
एसपिए कैलाली प्रिमियर लिग –३ : वाकओभर पाएपछि पुनर्वास “बी” फाइनलमा
फाल्गुन १३,धनगढी धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ ।
टस समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टले जानकारी दिए । प्रधानमन्त्री कपको प्रदेश छनोटका लागि खेलाडीहरु बैतडी गएपछि खेलाडी अपुग भएर सेमिफाइनल छोड्नुपरेको गोदावरी नगरपालिकाको टिमका म्यानेजर रमेश कडायतले बताए ।
आजै दिउँसो २ बजे दोश्रो सेमिफाइनल दोश्रो समूह सी को विजेता टोली बाजुराको त्रिवेणी नगरपालिका र समूह डी को विजेता टोली भिमदत्तका बीच हुनेछ । फाइनल खेल भने फाल्गुन १४ गते अर्थात भोली दिउँसो १ बजेबाट धनगढीको फाप्ला मैदानमा हुनेछ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो ।
तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।