
पुनर्वासको त्रिभुवन युवा क्लबद्वारा वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता सुरु
पुनर्वास- कंचनपुरको पुनर्वासमा निर्वाचन क्षेत्र नम्बर -१ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता -२०८१, “वडा अध्यक्ष कप” सुरु भएको छ ।
शुक्रबार प्रतिनिधि सभा सदस्य माननीय तारालामा तामाङको प्रमुख आतिथ्यतामा निर्वाचन क्षेत्र नम्बर -१ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता -२०८१, “वडा अध्यक्ष कप” सुरु भएको हो ।
खेल उद्घाटन गर्नुहुदै प्रतिनिधि सभा सदस्य तामाङले खेलले खेलाडीको स्तरोन्नति मात्रै नभई राष्ट्रलाई समेत चिनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
उहाँले खेलकुदका कारण युवाहरुमा बढ्दो कुलतलाई पनि नियन्त्रण हुने तर्क दिनुभयो ।
“खेलमा हारजित भन्ने हुन्छ नै तर खेलाडीको प्रस्तुति र अनुशासन सबैभन्दा महत्त्वपूर्ण विषय हो ।” उहाँले भन्नुभयो, यस वडाध्यक्ष कपले स्थानीय खेलाडी उत्पादनमा टेवा पुग्छ ।”
क्लबका अध्यक्ष जित बहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा,पुर्व नगर उपप्रमुख शारदा बिष्ट र कंचनपुर फुटबल संघका उपाध्यक्ष दाउत तामाङ हुनुहुन्थ्यो । भने पुनर्वास-६ का वडाध्यक्ष मित्र सिंह लामा,पुनर्वास-५ का वडाध्यक्ष पदम बहादुर रोकाया,पुनर्वास-७ का वडाध्यक्ष मुलचन्द राना लगायतको आतिथ्यता थियो ।
क्लबका कोषाध्यक्ष सन्त बहादुर भट्टको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भरत बोहराले गर्नुभएको थियोे ।
प्रमुख प्रथम पुरस्कार १ लाख र द्वितीय पुरस्कार ५५ हजार धनराशीको सो प्रतियोगिता मंसिर १ गते सम्म सञ्चालन हुनेछ भने पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका,लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाका २० फुटबल टिम सहभागी छन् ।