
पुनर्वास ओझा सेवा समाजको प्रथम साधारणसभा सम्पन्न
पुनर्वास । कञ्चनपुरको पुनर्वासमा ओझा सेवा समाजको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
शनिबार पुनर्वास नगरपालिका-८, क-गाउँ स्थित अलंकार पब्लिक स्कुलको प्राङ्गणमा ओझा परिवारको बाक्लो उपस्थितिमा समाजको प्रथम साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले आपत्ति र विपत्तिका बेला समाजको ठुलो महत्व हुने बताए ।
उनले आफ्नो परिवार मात्रै नभई समुदाय स्तरमा रचनात्मक कार्य गर्न समेत यस समाजको भुमिका रहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
कैलाली शाखाका सचिव तथा कार्यक्रमका बिशिष्ट अतिथि गिरीराज ओझाले २०५३ सालमा केन्द्रिय कार्यसमिति गठन भएको सुनाउदै यसमा हामीले निरन्तरता दिनुपर्ने र यसले ओझाहरुमा समस्या पर्दा समेत समाजबाट ठुलो सहानुभूति प्रदान हुने बताए ।
त्यस्तै ओझा समाजका सदस्य चक्रप्रसाद ओझाले संगठन बिस्तारले आफन्तको पहिचान र को कहाँ बस्छन् भन्ने एकअर्कामा जानकारी हुन पुगेको बताए ।
परिवारमा आईपर्ने समस्याको सहज रुपमा समाधान गर्न र आफन्तहरु बीच एकता कायम गर्न समाजको गठन गरिएको अध्यक्ष खगेन्द्र राज ओझाले जानकारी दिए ।
कार्यक्रममा ओझा परिवारका वयोवृद्ध ९५ वर्षीय धर्मराज ओझालाई नगद,दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो । भने अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
ओझा समाज पुनर्वासका अध्यक्ष खगेन्द्र राज ओझाको सभाध्यक्ष तथा सदस्य पुष्पराज ओझाको स्वागत मन्तव्यसंगै सुरु गरिएको कार्यक्रमको सञ्चालन सदस्य कृष्णराज ओझाले गरेका थिए ।