पुनर्वासको आई.बी.आर.डी. बजार जलमग्न
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाको आई.बी.आर.डी. बजार जलमग्न भएको छ । बुधवार बिहान केही समय परेको सामान्य वर्षाले आई.बी.आर.डी. बजार जलमग्न भएको हो । पानीको उचित निकास नहुँदा बजार जलमग्न हुने गरेको छ ।
नगरपालिकालाई बारम्बार आवाज उठाउँदा पनि कुनै वास्ता नगरेको स्थानीयको भनाई छ । पानी निकास नहुँदा सडक जलमग्न भएपछि बजार क्षेत्रका व्यवसायमा समेत असर परेको कालिका बजार व्यवस्थापन समितिका सह–सचिव धनलाल मोक्तानले बताए ।
‘पानी निकास नहुँदा बजार जलमग्न भएको छ,’ उनले भने, ‘सामान्य वर्षामा पनि बजार जलमग्न हुने गरेको छ । जसका कारण बजारका पसलहरूमा समेत पानी पस्ने गरेको छ भने हिँडडुलमा समेत हामीलाई समस्या भइरहेको छ ।’
यता नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले भने अर्को योजना भएका कारण नगरले यसमा बजेट हाल्न नमिल्ने बताए । उनले चाडै काम गराउनका लागि आफूले निर्माण कम्पनीलाई बारम्बार घच्घच्याँउदै आइरहेको बताए ।
‘यो बहुवर्षे योजना अन्तर्गत सङ्घीय सरकारको बजेटमा निमार्ण भइरहेको सडक हो, नगरले यसमा बजेट हाल्न मिल्दैन,’ नगर प्रमुख शर्माले भने, सो सडकलाई चाडै काम गराउनका लागि मैले पनि निर्माण कम्पनीलाई बारम्बार घच्घच्याँउदै आइरहेको छु । हामीले कुनै वास्ता नगरेको भन्ने हैन ।’ सङ्घीय सरकारको बजेटमा बहुवर्षे योजना अन्तर्गत बजार क्षेत्रमा अहिले ढल निकास सहितको बाटो निर्माण भइरहेको छ ।