
पुनर्वासमा कार्यालय सहयोगीलाई ठक्कर दिने ट्रेक्टर प्रहरी नियन्त्रणमा
पुनर्वास – पौष १३ गते मोटरसाइकल दुर्घटनाबाट मृत अवस्थामा फेला परेका कार्यालय सहयोगी दिपक बहादुर श्रीमाललाई ठक्कर दिने ट्रेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार साझ नै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले दुर्घटनामा संलग्न भे.१त. ३२४३ नम्बरको ट्रेक्टर सहित चालकलाई नियन्त्रणमा लिई बिहिबार पिडित समक्ष सार्वजनिक गरेको हो ।
ट्रेक्टर पुनर्वास नगरपालिका-७ का २९ वर्षीय विजय सिंह रानाले चलाएको र अहिले चालक र ट्रेक्टर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
पुनर्वास नगरपालिका-६ टाउन बजार नजिकै मुख्य सडक किनारामा रोकेर राखेको ट्रेक्टर सहितको ट्रालीमा ठोक्किएर मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।
मोटरसाइकल दुर्घटना पछि ट्रेक्टर घटनास्थलबाट पुनर्वास नगरपालिका-७ पराशनमा लुकाएको र प्रहरीको अनुसन्धान पछि नियन्त्रणमा लिएको प्रहरीबाट बुझिएको छ ।
नियम विपरीत ट्रेक्टर सडक किनारामा राख्ने र दुई भन्दा बढि ट्राली जोडेका कारण पनि वर्षेनी ट्रेक्टरका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको स्थानीयहरुको भनाई छ ।
अबका दिनहरुमा यस्ता घटनाहरुलाई रोक्नका लागि सवारी धनी तथा चालकहरुलाई नियमन निकायहरुले सचेत गराउनुपर्ने आवश्यक रहेको स्थानीयहरुले माग गरेका छन् ।