पुनर्वासमा प्रहरीद्वारा विद्यार्थीहरुलाई कानुनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम
पुनर्वास- कंचनपुरको पुनर्वास स्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले विद्यार्थीहरुलाई कानुनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
शुक्रबार बिहान पुनर्वास-६ स्थित युग ज्योति एकेडेमीका बिद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको सहभागितामा विद्यालयकै प्राङ्गणमा कानुनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुर्ब्यसनी सम्बन्धी लागु औषधको परिचय,प्रकार,असर,कानूनि ब्यवस्था र रोकथामको लागी नागरिक र प्रहरीको भूमिका बारे बिद्यार्थीहरुमा निरन्तर कार्यक्रम गर्दै आएको त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।
उनले भारतसंग जोडिएको खुल्ला सीमानाकाका कारण युवा-युवतीहरुमा बढ्दो लागुऔषध दुर्व्यसनी लगायतका अन्य हिंसात्मक गतिविधि रोक्न ईलाका प्रहरी कार्यालय पुनर्वासका ११ वटै वडामा विभिन्न कार्यक्रम गर्ने योजनाका साथ अघि बढेको बताए ।
विद्यार्थी र शिक्षक- शिक्षिका सहित २ सय २० जनाको सहभागिता रहेको कार्यक्रममा कानुनी प्रशिक्षण प्रहरी निरीक्षक मल्लले दिएका थिए ।