Above Article Ad
  • शैक्षिक क्रान्ति र नेविसंघको भुमिका

    Above Article Content Ad
    1. काठमाडौं- विद्यार्थी राजनीतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को गौरवशाली इतिहास छ। २०२७ सालयताका हरेक राजनीतिक परिवर्तनमा संघले परिवर्तन र क्रान्तिको सेतुका रूपमा काम गर्दै आएको छ। प्रजातन्त्र प्राप्तिपछि पनि संघ अग्रमोर्चाको सिपाही नै बनेर उभियो।

    नेविसंघ स्थापनाको आफ्नै इतिहास छ। वि.सं. १९९० तिर नेपालमा राणाशासकको चरम दमन थियो। जनता राणाको थिचोमिचो सहन विवश थिए। दमनविरुद्ध भारतको बनारसमा अध्ययनरत विद्यार्थी गोलबद्ध भए। विद्यार्थी भेलापछि वि.सं. १९९१ मा नेपाली छात्र संघ स्थापना गरियो। निरकुङ्श राणाशासनको विकृति, विसङ्गति, अन्याय र अत्याचारविरुद्ध लड्दै प्रजातान्त्र प्राप्तिको आन्दोलनमा टेवा पुर्‍याउने उद्देश्यका साथ नेपाली छात्रा संघ स्थापना गरिएको थियो। नेपाली राजनीतिमा विद्यार्थी आन्दोलनको सूत्रपात पनि त्यहीँबाट भएको हो।

    संघमा आबद्ध विद्यार्थीले भारतमा रहेका आफ्ना गतिविधि सशक्त पार्दै गएका थिए। वि.सं. १९९७ माघ १६ गते त्रिचन्द्र कलेजका विद्यार्थी नेता गङ्गालाल श्रेष्ठलाई राणाले फाँसी दिएपछि विद्यार्थी थप आक्रोशित बने। विद्यार्थी आन्दोलन सशक्त बन्दै गयो। देश–विदेशमा विद्यार्थीले राणाविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउँदै लगे। राणाहरूको दमनले सीमा नाघेपछि त्यसको अन्त्यका लागि प्रजातन्त्रवादी गोलबद्ध भए। फलस्वरूप वि.सं. २००६ सालमा नेपाली काँग्रेसको स्थापना भयो। जननायक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरूले राणाविरोधी गतिविधि तीव्र पार्न थाले।

    Article inline ad #1
  • कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा शासन ढल्यो। त्यसपछि पनि प्रजातन्त्र अपेक्षित रूपमा अघि बढ्न सकेन। राजाहरूले प्रजातन्त्रमाथि कुदृष्टि लगाइरहे। फलस्वरूप २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको घाँटी नै निमोठे। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गर्दै पञ्चायती व्यवस्था लागू गरे। जुन घटनालाई नेपाली राजनीतिमा राजाको दुस्साहसका रूपमा लिइन्छ। राजाको उक्त गतिविधिविरुद्ध पनि विद्यार्थीले अग्रणी भूमिका निर्वाह गरेर आन्दोलन गरेका थिए।

    Article inline ad #2
  • महेन्द्रले जनताको अधिकार कुण्ठित तुल्याएका थिए। शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता मानव जीवनका महìवपूर्ण अधिकार कटौती गरिएको थियो। शान्तिपूर्ण आन्दोलन, भेला, सम्मेलन र सङ्गठित हुन प्रतिबन्ध लगाइएको थियो। राजनीतिक दल खोल्न बन्देज गरिएको थियो। कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतलाई नजरबन्दमा राखिएको थियो। बीपी कोइरालालाई नेपालमा जसरी पनि प्रजातन्त्र पुनर्बहाली गर्नु थियो। त्यसका लागि कांग्रेसको सिद्धान्त गाउँ टोलमा पुर्‍याउनु ठूलो चुनौती थियो। प्रजातन्त्रको मर्म जनतालाई नबुझाई आन्दोलन कुनै हालतमा सफल हुने थिएन। बीपीले आन्दोलन सफल तुल्याउन नेपालमा पनि प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको आवश्यकता महसुस गरे। र, जेलभित्र नै कलम र मसालअङ्कित झन्डाको परिकल्पना। वि.सं. २०२७ वैशाख ६ गते बीपी र किसुनजीकै सक्रियतामा विपिन कोइरालाको नेतृत्वमा नेविसंघको जन्म भयो।

    विपिन कोइरालापछि नेविसंघको पहिलो निर्वाचित अध्यक्ष वर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा हुनुभयो। त्यसपछि नेविसंघ नेपाली राजनीतिमा सधैँ क्रान्तिको अग्रमोर्चामा रह्यो। नेपाली प्रजातान्त्रिक आन्दोलनमा नेविसंघले नै थुप्रै नेता जन्मायो। अहिले काँग्रेसको पालिका स्तरदेखि केन्द्रसम्म नेविसंघमा कुनै न कुनै समयमा रहेर काम गरेका व्यक्तिको नै वर्चस्व छ।

    राजनीतिक परिवर्तन मात्र नभएर शैक्षिक परिवर्तनमा पनि नेविसंघको ठूलो भूमिका छ। संघको नेतृत्वमा थुप्रै शैक्षिक आन्दोलन सफल भएका छन्। जुन सधैँ विद्यार्थीको हितमा रहे। २००४ सालमा तीनधारा संस्कृत पाठशालामा भएको ‘जयतु संस्कृतम्’ आन्दोलन नै नेपालको पहिलो शैक्षिक आन्दोलन हो। पढ्न पाउने अधिकार नै नभएको बेला पाठ्यक्रममा आधुनिक र वैज्ञानिक विषय थप गर्नुपर्ने भनेर विद्यार्थी आन्दोलित बनेका थिए। नेपाली प्रजातान्त्रिक विद्यार्थी सङ्गठन र काँग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०१६ सालसम्म त्रिभुवन विश्वविद्यालयदेखि देशभर विभिन्न विद्यालय खोल्ने काम भए। जसले शिक्षा क्षेत्रमा ठूलो क्रान्ति ल्यायो।

    देशका विभिन्न स्थानमा शिक्षाको पहुँच पुग्यो। २०२८ सालमा नयाँ शिक्षा नीतिका नाममा पञ्चायतले लागू गरेको राजारानी र पञ्चायतको स्तुति गाउने शिक्षा नीतिविरुद्धको आन्दोलन, २०३२ सालको स्ववियु पुनस्र्थापनाको आन्दोलन, २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन नेविसंघले गरेका प्रमुख शैक्षिक आन्दोलन हुन्। २०५८ साल भदौ २४ गते नेविसंघले देशका आठ विद्यार्थी सङ्गठनलाई आफ्नो कार्यालयमा बोलायो। विद्यार्थीका मुद्दामा सबै विद्यार्थी सङ्गठनको एउटै आवाज बनाउनु थियो। जुन राजनीतिक संस्कार अहिले पनि विद्यार्थी आन्दोलनमा निरन्तर छ। राजनीतिक विचार जेसुकै भए पनि विद्यार्थीको हकहितका सवालमा सबै विद्यार्थी सङ्गठनले अहिले पनि एक भएर आवाज उठाउने गरेका छन्। यस संस्कारको जग नेविसंघले नै हालेको हो।

    सम्बन्धित खवर

    सरकारले जबरजस्ती लाद्न खोजेको पाँच प्रतिशत शैक्षिक कर खारेज, विद्यार्थीलाई त्रिवि शिक्षण अस्पतालको उपचार खर्चमा ५० प्रतिशत छुट गराउनेदेखि सार्वजनिक सवारीमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिलाउने कार्य नेविसंघकै पहलमा भएको हो। २०७२ सालबाट विश्व मान्यताप्राप्त सेमेस्टर प्रणाली सुचारु गर्नेदेखि विश्वविद्यालय जान नसक्ने तर अध्ययन गरेर आफ्नो भविष्य उज्ज्वल बनाउन चाहने विद्यार्थीलाई घरमै बसेर भर्चुअल माध्यमबाट पढ्न पाउने व्यवस्था पनि संघकै पहलमा सफल भएको हो। जसले गर्दा नेपालमा खुला विश्वविद्यालयको नीतिसमेत अवलम्बन भएको छ। ११ वटा विश्वविद्यालय स्थापना गर्न, मेडिकल शिक्षामा भर्ना प्रक्रियालाई मितव्ययी र सुलभ बनाउन संघले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।

    संघको गर्विलो इतिहासले मात्र पुग्दैन, त्यसको गरिमालाई बचाइराख्न सधैँ सजग र सचेत भइरहनुपर्छ। समाज परिवर्तनशील छ। परिवर्तनशील समाजलाई अध्ययन गर्दै राजनीतिक नेतृत्वले पनि सोहीअनुरूप आफूलाई ढाल्न सक्नुपर्छ। अब नेविसंघमा परिवर्तित नेतृत्वको आवश्यकता छ। विभिन्न राजनीतिक घटनाक्रमले १३ वर्षयता थुप्रै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन। पार्टीभित्रको गुटगत राजनीतिले नेतृत्व परिवर्तन हुन सकेको छैन।

    सम्पूर्ण विद्यार्थी सङ्गठनका नेता विद्यार्थीमुखीभन्दा पनि नेतामुखी भएका छन्। विद्यार्थी नेता पार्टीका नेताको वरिपरि नै घुमिरहने प्रवृत्तिले विद्यार्थी आन्दोलन कमजोर हुँदै गएको छ। यसको मुख्य दोषी विद्यार्थी नेता नै हुन्। सङ्गठनको साख जोगाउन उनीहरूले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा नेविसंघलाई विश्वको सगरमाथामा चढाउने हो भने अवश्य पनि सङ्गठनप्रति विद्यार्थीको आकर्षण बढ्दै जानेछ। विद्यार्थीको माझमा रहेर उनीहरूका समस्या सम्बोधनका लागि पहल गर्न आवश्यक छ। नेविसंघ ढुङ्गा बोकेर सडकमा जाने होइन, विचार र विमर्शका माध्यमबाट बौद्धिक बाटो अवलम्बन गर्दै समस्या समाधानका लागि पहल गर्नुपर्छ। आफ्नै पार्टीको सरकार किन नहोस्, जनताको हितमा खबरदारी गर्न नेविसंघ चुक्नु हुँदैन।

    आशा गरौं, यो नेतृत्वले बागबजार, पुतलीसडक, रत्नपार्कमा सडक तताउने होइन, देशभर विद्यार्थीको विवेक भर्ने गरी वैचारिक अभियान चलाउनेछ र विद्यार्थीको शैक्षिक मुद्दामा बुलन्द आवाज उठाउनेछ। नेविसंघको नेतृत्वको ध्यान यसतर्फ केन्द्रित होस्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button