
म अनि मेरो गाउँले जीवन
Above Article Content Ad
म डोटी जिल्लाको ओखट्यामा जन्मिएको हुँ। चार वर्षको हुँदा बुबाआमासँगै साबिकको बाइसी बिचवा हुँदै अहिलेको पुनर्बास नगरपालिका–११ मा आइपुगेँ।
सानो थिएँ, केही बुझ्ने उमेर थिएन, तर त्यहीँबाट जिन्दगीको नयाँ अध्याय सुरु भयो। सात वर्षको हुँदा गाउँकै एउटा बोर्डिङ स्कुलमा भर्ना भएँ। किताबको थैली बोकेर विद्यालय जाने, साथीहरूसँग रमाइलो गर्ने, अनि बेलुकी गाईगोरु चराउने ती दिनहरू आज पनि मनभित्र ताजै छन्। बरसातको मौसम आउँदा जङ्गल धाउने, खोल्सामा पौडी खेल्ने, अनि एक अर्कामाथि छ्यापाछ्याप पानी छ्याप्दै हाँसोले गाउँ गुन्जाउने त्यो रमाइलो, सायद फेरि कहिल्यै नदोहरिने किसिमको थियो।
खेलकुदको कुरा गर्दा, राजापार, लुकामारी, गोटी, अनि पोस्टकार खेल्न पाउँदा कति खुसी लाग्थ्यो! अरहरको बारीमा ठूला दाइहरू पोस्टकार खेलिरहेको हेर्ने, कहिले-काहीँ आफैँ चिट्ठी बनेर दौडिने, “पोस्टकार आयो!” भन्दै गाउँभरि हाँसो छर्ने ती दिनहरू आज सम्झँदा मुटु न्यानो हुन्छ। त्यो खेल मात्र थिएन, त्यो त हाम्रो आपसी सम्बन्ध, माया र मित्रताको पुल थियो। गाउँनजिकको मन्दिर पनि बाल्यकालको एउटा महत्वपूर्ण हिस्सा बन्यो। सानै उमेरमा धूप–बत्ती बाल्न जान्थ्यौं। त्यो स्थान मेरो मनको आध्यात्मिक कोनाजस्तै बन्यो—शान्त, पवित्र र आत्मीय। माटोको गन्ध, खेतको हरियाली, साथीहरूको साथ, र परिवारको माया—यी नै मेरा बाल्यकालका अमूल्य गहना हुन्। बिस्तारै पढ्दै गएँ, बुझाइ गहिरिँदै गयो।
समयसँगै म शिक्षण पेशामा लागें। दुई विद्यालयहरूमा जोशजाँगरका साथ पढाउने अवसर पाएं, जहाँ मैले बुझें—शिक्षक हुनु भनेको केवल पाठ पढाउनु मात्र होइन, जीवन बनाउनु हो। र अहिले, म गाउँकै पपुलर इङ्लिश बोर्डिङ स्कुल मा प्रधानअध्यापकको रूपमा कार्यरत छु। यही विद्यालयमा आज म अरूलाई अक्षर चिनाउने काम गर्दै छु, जुन मेरो लागि गर्वको विषय हो। साथै, म नेपाल प्रेस युनियन कञ्चनपुर जिल्ला शाखाको सदस्य र नेपाली काँग्रेस वडा कार्यसमितिको वडा सचिवको जिम्मेवारी पनि बहन गर्दै आएको छु। यो यात्रामा समाजप्रतिको दायित्व र जनसेवाको भाव पनि थपिएको छ। २०७४ साल वैशाख १५ गते, महेन्द्रनगरको खैरभट्टीबाट मेरो विवाह भयो।
अहिले एक छोरी र आठ महिनाको छोरा छन्—जसलाई म आफ्नो जीवनको आशा र प्रेरणाका रूपमा हेर्छु। परिवार, पेशा र समाज—यी सबै जिम्मेवारीलाई सन्तुलनमा राख्दै म निरन्तर समाजसेवाको यात्रामा अघि बढिरहेछु। साच्चै भन्नुपर्दा, म त्यो सानो गाउँको बालक हुँ, जसले खेतका पाउला छोएको थियो, खोला र माटोसँग खेल्दै ठूलो भएको थियो। आज जहाँ छु, जस्तो छु, यो सबै मेरो गाउँको माया, माटोको स्पर्श र बाल्यकालको शिक्षाले दिएको उपहार हो। र यही सम्झनासहित म निरन्तर यस समाजको सेवा गर्न चाहन्छु—मन, माटो र मान्छेको माया बोकेर।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1
+1
+1
Below Article Content Ad














