पुनर्वासको बिधुत समस्या बोकेर शनिबार बिधुत कार्यालय पुगे मेयर शर्मा
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले शनिबार बेलौरी बिधुत वितरण केन्द्रका प्रमुखलाई बिधुत समस्या बारे कार्यालयमा पुगेर अवगत गराएका छन् ।
वर्षौं देखि पुनर्वासका विभिन्न क्षेत्रमा देखिएका बिधुत समस्या बारे स्थलगत निरीक्षण गरी यथाशीघ्र समाधान गर्न बिधुत वितरण केन्द्र बेलौरीका प्रमुख कपिल जोशीलाई अनुरोध गरेका हुन् ।
मेयर शर्माले पुनर्वास नगरपालिका-१ देखि ११ वडामा रहेको विद्युत भोल्टेज, पोल, लाईन बिस्तार लगायतका समस्या विद्युत प्रमुख जोशीलाई टिपाएका थिए ।
समस्या टिप्ने क्रममा प्रमुख जोशीले सबै क्षेत्रमा समस्याको विषयमा केन्द्रित रहेको तर सिमित बजेटका कारण कतिपय समस्या यसै आर्थिक वर्षमा पुरा नहुने बताए ।
उनले पुनर्वासका हकमा पुनर्वास-९ बिचफाटा स्थित हरियाली टोल र मोतियाफाटामा समस्या बढि देखिएकाले यसै आर्थिक बर्ष भित्र समस्या समाधान गर्ने तयारीमा रहेको जानकारी दिए ।
मेयर शर्मा संग धनगढी उपमहानगरपालिका-२ का वडाध्यक्ष धर्मराज ओझा, नेपाली काङ्ग्रेसका नेता सुकबहादुर तामाङ, जगत सायर, सन्तोष भट्ट, देव कुवर लगायत पत्रकारहरु सहभागी थिए ।