
अनावरण नहुँदै धनगढीमा जयपृथ्वीबहादुर सिंहको प्रतिमा तोडफोड
धनगढी – राष्ट्रिय विभूति एवं मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा धनगढीमा राखिएको उनको प्रतिमामा तोडफोड भएको छ।
धनगढी उपमहानगरपालिका–७ हुलाकी सडकस्थित जेपी चोकमा राखिएको प्रतिमामा शनिबार राति अज्ञात व्यक्तिले तोडफोड गरेका हुन्। प्रतिमाको आज अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो। तर, अनावरण हुनुअघि नै प्रतिमामा तोडफोड भएपछि घटनाको विरोध भएको छ।
मानवता, समानता र विश्वबन्धुत्वका क्षेत्रमा जयपृथ्वीबहादुर सिंहले पुर्याएको योगदानको स्मरण गर्दै उनको सम्मानमा बझाङी समाज धनगढीको अगुवाइमा जेपी चोकमा प्रतिमा स्थापना गरिएको थियो।
प्रतिमा तोडफोड भएको घटनालाई समाजले गम्भीर रूपमा लिएको छ। बझाङी समाज धनगढीले ऐतिहासिक व्यक्तित्वको सम्मानमा राखिएको प्रतिमामा तोडफोड गर्नु निन्दनीय भएको भन्दै घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न माग गरेको छ।
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीका अवसरमा आज प्रतिमा अनावरण गर्ने कार्यक्रमसमेत तय गरिएको थियो।















