Above Article Ad
  • निर्मला हत्या अनुसन्धानकै बीच एसएसपी फिर्ता, अब ह्युमन इन्टेलिजेन्समा

    Above Article Content Ad
  • काठमाडौं -कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा भएको छ।

    २०७५ साउन १० गते भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मलाको शव उखुबारीमा फेला परेको थियो। घटनाको आठ वर्ष बितिसक्दा पनि हत्यारा पहिचान हुन सकेको छैन।

    Article inline ad #1
  • निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले पछिल्लो समय अपराध अनुसन्धान विभागका एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरेको छ। समितिमा एसपी दधिराम न्यौपाने, प्रहरी महानिरीक्षकको सचिवालयका डीएसपी हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरोका इन्स्पेक्टर वीरेन्द्र बिसीलगायत १५ जना सदस्य छन्।

    Article inline ad #2

    समितिका संयोजक एसएसपी पंगेनी नेतृत्वको टोली यसै साता कञ्चनपुरस्थित महेन्द्रनगर पुगेर अनुसन्धानका विभिन्न पक्षबारे जानकारी लिएर काठमाडौं फर्किएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी अधिकृतका अनुसार टोलीले घटनासँग सम्बन्धित विवरण तथा यसअघि भएका अनुसन्धानका विषयमा समेत अध्ययन गरेको छ।

    निर्मला हत्याको अनुसन्धानका लागि यसअघि पनि पटक–पटक समिति गठन भएका थिए। तर, ती समितिले हत्यारा पहिचान गर्न नसकेपछि अहिलेको समितिले विगतका अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणलाई पुनः विश्लेषण गर्दै नतिजामुखी अनुसन्धान अघि बढाएको प्रहरी अधिकारीहरू बताउँछन्।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाको सुरुदेखि नै अनुसन्धान गर्दै आएको छ। जघन्य अपराधसम्बन्धी अनुसन्धान गर्ने ब्युरोको ‘१ नम्बर पिल्लर’ले निर्मला प्रकरणलाई निरन्तर अनुसन्धान गरिरहेको छ। सीआईबीको टोली घटना भएको केही समयपछि नै कञ्चनपुरमा खटिँदै आएको छ।

    प्रहरीका अनुसार यसअघि निर्मला हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन डीएनए परीक्षणलाई मुख्य अनुसन्धान विधि बनाइएको थियो। हालसम्म १२३ जनाभन्दा बढी शंकास्पद व्यक्तिको डीएनए परीक्षण गरिएको छ। तर, घटनास्थलबाट प्राप्त नमुनासँग डीएनए नमिलेपछि अनुसन्धानले अपेक्षित नतिजा दिन सकेको छैन।

    डीएनए परीक्षणबाट मात्रै निष्कर्षमा पुग्न नसकिएपछि प्रहरीले अहिले मानव सूचना अर्थात् ‘ह्युमन इन्टेलिजेन्स’मा आधारित अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ। यसअघि गठित विज्ञ समितिले पनि प्राविधिक पक्षबाट मात्रै अनुसन्धान अघि बढाउन कठिन हुने निष्कर्ष निकालेको थियो।

    प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले एसएसपी पंगेनी नेतृत्वको समितिले अनुसन्धानलाई निरन्तरता दिइरहेको बताए। उनका अनुसार अनुसन्धान नतिजामुखी बनाउने गरी काम अघि बढाइएको छ।

    निर्मला प्रकरणमा हालसम्म औपचारिक रूपमा नौ वटा समिति गठन भइसकेका छन्। प्रहरी प्रधान कार्यालय, सीआईबी, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय तहबाट समेत विभिन्न चरणमा अनुसन्धान टोली तथा समिति परिचालन भएका थिए।

    घटनाको २५ दिनपछि प्रहरीले दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। तर, २०७५ भदौ २६ गते सरकारी वकिलको कार्यालयले घटनामा उनको संलग्नता पुष्टि गर्ने आधार नदेखिएको र डीएनए नमिलेको भन्दै उनलाई छाडेको थियो।

    निर्मला हत्याको अनुसन्धानमा हालसम्म आठ वटा प्रहरी कार्यालयबाट ७८ जना प्रहरी अधिकारी तथा कर्मचारी संलग्न भइसकेका छन्। सीआईबीबाट मात्रै ४४ जनाले यस प्रकरणको अनुसन्धान गरिसकेका छन्।

    आठ वर्ष बितिसक्दा पनि निर्मलाको परिवारले न्याय पाउन सकेको छैन। पटक–पटकका अनुसन्धान, समिति गठन र विभिन्न व्यक्तिमाथि गरिएको अनुसन्धानपछि पनि हत्यारा पहिचान हुन नसकेको अवस्थामा अहिलेको अनुसन्धान समितिले विगतका कमजोरी पहिल्याउँदै वास्तविक दोषीसम्म पुग्ने प्रहरीको दाबी छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6