
जङ्गली हात्तीको आक्रमणबाट आमा–छोराको मृत्यु
चितवन- चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणमा परी आमा र चार वर्षीय छोराको मृत्यु भएको छ।
गएराति जङ्गली हात्ती स्थानीय पूर्ण बोटेको घरमा प्रवेश गरी घरभित्र सुतिरहेका उनको श्रीमती अन्दाजी २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। आक्रमणबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाका क्रममा पूर्ण बोटेले हात्ती धपाउने प्रयासस्वरूप आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार घटनास्थलको आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का सम्बन्धी कार्य सम्पन्न गरिएको छ। घटनाबारे चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।


























