
पुनर्वासमा धुमधामका साथ तमु ल्होसार मनाइयो
बिरालो वर्षको बिदाई गरुड वर्षको स्वागत
पुनर्वास – गुरुङ समुदायको महान पर्व एबम नयाँ बर्ष आइतबार देशभर विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै मनाईएको छ ।
कंचनपुरको पुनर्वास नगरपालिका ११ स्थित भिमबस्तीमा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद ईकाई कार्य समिती पुनर्वास १० र ११ को संयुक्त आयोजनामा विविध कार्यक्रम गरि मनाईएको हो । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष बिरालो वर्ष थियो भने यस वर्ष गरुड वर्ष रहनेछ । कार्यक्रममा गुरुङ समुदायको भेषभुषा सहित युवायुवती लगायत उपस्थितहरुले नाचगान गर्दै रमाईलो गरेका थिए ।
कार्यक्रममा पुनर्वास ११ का वार्ड अध्यक्ष तुलसी अर्यालले वार्ड स्तरबाट आफुले गर्न सक्ने सबै काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माले पुनर्वासमा आदिवासी जनजाति मध्यमा पनि गुरुङ समुदायहरुको आफ्नै मौलिक भेषभुषा तथा रहनसहन सगै सहभागी भएर कार्यक्रम आयोजना गर्दा आफू निकै हर्षित भएको बताउनुभयो । उहाँले नयाँ बर्षको रुपमा रहेको तमु ल्होसारको शुभकामना व्यक्त गर्दै आफुबाट गर्न सक्ने सहयोगमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष जंग बहादुर गुरुङले पछिल्लो समय युबाहरु पलायन हुँदै गएको र आफ्नो रितितिथि हस्तान्तरणमा पनि युबाहरुको चासो कम हुँदै गएको प्रती दुखेसो व्यक्त गर्नुभयो । उहाँले पुनर्वास मात्रै आफ्नो समुदायको २ सय परिवार रहेको बताउदै नगरको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा घैटोफोड, छेलो खेल, कुर्चिचाल, डोरि तान लगायत खेल पनि भएको थियो । कार्यक्रमको संचालन नरेन्द्र गुरुङले गर्नु भएको थियो भने कार्यक्रमको सभापतीत्व जंग बहादुर गुरुङले गर्नु भएको थियो ।
सन् १०० बी.सी. तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता) को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भएको इतिहास छ । ड्रिगमको हत्यारा (लोङम डाजी) को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासू क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्य रूपले निम्ताएको विश्वास छ । पछि सम्थव ङोन्पो नामक वोन्पो विनले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताको रूप दिए जसलाई क्यार वोन भनिने गरिन्छ । त्यसयता पहिलो चन्द्रमास पात्रोको शुरुवात गरिएको मान्यता छ । त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइने गरिन्छ ।
तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको भन्दै आइतबार हर्षोल्लासका साथ यो पर्व मनाएको छ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ । पर्वको पूर्व सन्ध्याँमा पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ ।
ल्होसारका दिन बिहानै देखि ढोग भेट, आशीष आदान प्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्ने गर्छन् । सरकारले आजको दिन सार्वजनिक विदा समेत दिएको छ ।