
बेलौरी-४ वडा कार्यालयद्वारा ठाउँ ठाउँमा ट्राफिक सचेतना होडिङ बोर्ड
बेलौरी-कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयले वडा भित्र रहेका चोक र सडकमा ट्राफिक सचेतनालाई प्राथमिकतामा राख्दै अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीलाई ट्राफिक जनचेतनामूलक ६ थान होडिङ बोर्ड हस्तान्तरण गरेको छ।
वडाको आर्थिक सहयोगमा उपलब्ध गराइएको उक्त होडिङ बोर्डले ट्राफिक नियम पालना, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश सर्वसाधारणसम्म पुर्याउने लक्ष्यका साथ होडिङ बोर्ड हस्तान्तरण गरिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो। वडाध्यक्ष ढकालका अनुसार पछिल्लो समय बढ्दो सवारी चापसँगै सडक दुर्घटनाका घटना पनि बढिरहेको बताउँदै यस्ता जनचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्नेमा हामी विश्वस्त रहेको समेत बताउनुभयो।
अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीका प्रहरी वरिष्ठ हवल्दार खेमराज भट्टले वडाको यस किसिमको सहयोगले ट्राफिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै होडिङ् बोर्डमार्फत सडक प्रयोगकर्तालाई नियम पालन, सावधानी र सुरक्षित यात्रासम्बन्धी सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सहज हुने विश्वास लिएको बताउनुभयो। जनप्रतिनिधि, स्थानियको उपस्थितिमा होडिङ् बोर्ड राखिएको थियो।















