
कैलालीमा लागूऔषध सहित ३ जना पक्राउ
धनगढी-कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–१ झगडपुरबाट १०० मिलिग्राम लागूऔषधसहित स्थानीय ३१ वर्षीय गणेश मल्ललाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका मल्ललाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकबाट ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई बिहीबार बेलुकी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय एक किशोर तथा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बस्ने १९ वर्षीय निशान ढकाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा लागूऔषध बरामद भएको जनाएको छ । पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















