
कैलाली र बझाङबाट चरेशसहित ३ जना पक्राउ
धनगढी-कैलाली र बझाङबाट चरेशसहित ३ जना पक्राउ परेका छन्।
बझाङको जयपृथ्बी नगरपालिका–९ रानिबन स्थित रानिबन होटेल एण्ड लजबाट अवैध लागूऔषध चरेश १२ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा होटेलका सञ्चालक सोही ठाउँ बस्ने वर्ष २१ वर्षीय रोहित खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल बझाङको जयपृथ्बी नगरपालिका–१० चैनपुर बस्ने २७ वर्षीय साजन जोशी रहेका छन। लागूऔषध सेवन गरिरहेका छन भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले यी दुबै जनालाई तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया स्थित धनगढी सडक खण्डबाट अवैध लागूऔषध चरेस १ किलो २३६ ग्रामसहित सोही नगरपालिका–२ बस्ने ३८ वर्षीय धर्म धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको जनाएको छ।


























