
पक्की घर पाएपछि मुक्त कमैया निकै खुसी
धनगढी- मुक्त कमैया जगतराम चौधरीको जीवनको आधा समय अरूको घरमा कमैया बस्दै बित्यो । सानैदेखि बच्चा स्याहार्ने कामबाट कमैया जीवन सुरु गरेका उनले ४० वर्षसम्म अरूको घरमा काम गरेका थिए। चौधरी भन्छन्, “आधा जीवन बर्दगोरियाका विभिन्न मालिकको घरमै बिताएँ । कमैया मुक्तिको बेला पनि कमैया नै थिएँ । कमैयाबाट मुक्त त भएँ तर, पहिलो चरणमा परिचयपत्र पाउनबाट वञ्चित भएँ ।”
आइतबार नयाँ घर पाएपछि हर्षित मुद्रामा उनले भने, “पहिले जग्गै नभएको मान्छे म पक्की घर पाउँछु भनेर कहिल्यै सोचेको पनि थिएन । घर पाउँदा सपना जस्तै लागिरहेको छ । अत्यन्त खुसी पनि लागिरहेको छ । सरकार र सङ्घ संस्थालाई धन्यवाद छ ।”
नयाँ आवास पाउँदा निकै खुसी लागेको मुक्त कमैया सुकनीदेवी चौधरीले बताइन्। उनले पक्की घर बनाउने सपना पूरा भएको उल्लेख गर्दै भनिन्, “कुनै न कुनै दिन हाम्रो पनि पक्की घर हुन्छ भन्ने लाग्थ्यो । आज पक्की घर मिलेको छ । खुसी छौँ ।”
मुक्त कमैयाका लागि सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत एक करोड ४७ लाख ६९ हजार रुपियाँ लगानीमा सुरक्षित आवास निर्माण गरिएको जनाइएको छ । आवास हस्तान्तरण गर्दै मन्त्री थापाले सङ्घीय सरकारले पुनस्र्थापनाको कार्यबाट हात झिकेर स्थानीय सरकारलाई जिम्मेवारी सुम्पेपछि सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाएर मुक्त कमैया, हलिया, मुत्तक्त कमलरीका लागि आवास निर्माणको कार्य अगाडि बढाएको बताए। उनले भने, “यसरी काम अगाडि बढाएको हाम्रो प्रदेश मात्रै हो । अरू प्रदेशले काम गरेका छैनन् ।”
मन्त्री थापाले मुक्त कमैया, मुक्त हलिया, कमलरीको लागि बर्सेनि घर बनाउनुभन्दा आवश्यक भएका सबैका लागि एकै वर्षमा बनाउन सकिने बताए। (गाेरखापत्र)


























