
डिउटी सकेर फर्किंएका इन्स्पेक्टरलाई ट्रक दुर्घटनामा गम्भीर घाइते
काठमाडौं – डिउटी सकेर फर्किँदै गरेका एक ट्राफिक प्रहरी अधिकृत दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।मोटरसाइकलमा फर्किँदै गर्दा राति सवा ११ बजे ट्रकले ठक्कर दिंदा ३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा गम्भीर घाइते भएका हुन् ।
लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।दुर्घटना लामा तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा भएको हो । नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएको प्रहरीले जनाएको छ ।घाइते भएका इन्सपेक्टर लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत छन् । रामेछाप घर भएका उनी तार्केश्वरक-७ फुटुङ बस्दै आएका थिए ।
लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।















