
पुनर्वास महोत्सव बारे केही कुरा (विचार)
रामचन्द्र नेपाल
पुनर्वास-तयारीको लागि न्यून समय र विभिन्न प्रतिकूलताको बावजुद पनि पुनर्वास महोत्सव सम्पन्न भएको छ।
” हाम्रो पुनर्वास : राम्रो पुनर्वास ” नारासहित पुनर्वास उद्योग बाणिज्य संघद्वारा फागुन २५ देखि चैत्र ४ गतेसम्म आयोजित महोत्सवको सर्वाधिक सुन्दर पक्ष भनेको कुनै झै -झगडा नहुनु र कुनै ठूलो अवरोध वा अप्रिय घटना नभैकन शान्तिपूर्वक सम्पन्न हुनु हो। १७ वर्षपछि आयोजित यो दोश्रो महोत्सवले पुनर्वासको परिचय फैलाउन सफल भएको छ।यसको निमित्त आयोजक तथा सम्बन्धित सबै पक्षलाई धन्यवाद दिनुपर्छ।
यसपालि event organizer समेतको व्यवस्थापनमा सञ्चालित यो कार्यक्रमबाट पुनर्वासमा के कस्तो आर्थिक क्रियाकलाप भए ,यसले यहाँको उद्योग,व्यापार र उत्पादन प्रणालीमा के कस्तो सकारात्मक योगदान गर्न सक्यो त्यसको समीक्षा हुँदै जाला।अहिले यति नै भनौं, महोत्सव आयोजना गरियो र सफलतापूर्वक सम्पन्न भयो।
महोत्सव
उसरी उत्सव भन्नु नै रमाइलो र त्यसमा धेरैको सहभागिता हुने कुरा हो। त्यसमाथि यो त महाउत्सव हो। उसै पनि महाउत्सव ठूलो, विशाल आयोजना भएकाले यसमा धेरै पक्ष, विविध कृपाकलाप हुन्छन् र हुनु पर्छ। त्यही भएर सामान्य रमाइला उत्सव वा कार्यक्रमहरू,महोत्सव हुँदैनन् ।
महोत्सव आयोजनाको निश्चित उद्देश्य हुन्छ अनि त्यो उद्देश्यअनुरूपको नारा तय गरिन्छ। तय गरिएको नारालाई केन्द्रमा राखेर क्रियाकलापहरू र आगामी दिनमा गर्ने क्रियाकलापहरू त्यसतर्फ लक्षित हुन्छन्।सोअनुरूप यसपालि आयोजकद्वारा “हाम्रो पुनर्वास : राम्रो पुनर्वास” भन्ने नारा तय गरिएको देखिन्छ । उद्योग बाणिज्य संघ द्वारा आयोजित तथा स्थानीय तह ,सु प प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी क्षेत्र समेत प्रबर्धक रहेर आयोजना गरिएको महोत्सव प्रथमत : मनोरञ्जनात्मक मात्र नभएर आर्थिक क्रियाकलाप वृद्धि ,सामाजिक सांस्कृतिक सद्भाव, उत्पादित स्थानीय वस्तुहरूको प्रदर्शनी र उत्पादकहरूलाई प्रोत्साहन गर्ने अपेक्षा राख्नु स्वाभाविक हो।
यस माध्यमबाट पुनर्वासको परिचय संरक्षण गर्नु, विस्तार गर्नु साथै आयोजित ठाउँको सबै विशेषता र विविधता झल्काउनु पनि हो र हुनुपर्छ ।त्यसो गर्न महोत्सव कति सफल भयो यस कोणबाट समीक्षा, विचार हुने नै छ। स्थानीय सरकार समेतको प्रत्यक्ष संलग्नतामा सम्पन्न यस महोत्सवमा पुनर्वासका सबै विविधता ,सबै क्षेत्र ,सबै पक्ष ,सबै विशेषता झल्किए कि झल्किएनन्, उत्पादक शक्तिलाई प्रोत्साहन गर्न सकियो सकिएन, यताबाट पनि मूल्यांकन गर्नुपर्छ। खुल्ला सिमानाको कारण सुस्त बनेको पुनर्वासको उद्योग व्यवसाय अनि आर्थिक कृयाकलापमा केही रक्त संचार हुनसक्यो सकेन . समीक्षाको यो अर्को पाटो हो।
आर्थिक पक्ष र हिसाबकिताब यो त झनै अर्को पाटो हो।
त्यसका अतिरिक्त पुनर्वासले हालसम्म कृषि, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, खेलकुद, समाजसेवालगायतका क्षेत्रमा हालसम्म गरेका उपलब्धिको झल्को प्रस्तुत गर्न सकियो सकिएन, महोत्सवको माध्यमबाट यी कुरा जनसमक्ष पस्किन सकियो सकिएन यो पनि हेर्नैपर्ने पक्ष हो।
यी पक्षहरूमा कुरा गरिरहँदा हतारमा आयोजित एउटा व्यापारिक महोत्सवलाई यी सबै भार किन थोपार्ने भन्ने तर्क पनि आउन सक्छ । तर गुणस्तरीय एवं उपलब्धिपूर्ण महोत्सवले यी पक्षलाई समेट्न सक्नुपर्छ भन्ने हो। स्वाभाविक थियो, यसपालि पर्याप्त समय थिएन। वृहत्तर रूपले जान सकिएन । तर आगामी दिनमा यसरी जान सकियो भने उत्तम हुन सक्छ कि भन्ने यस छोटो लेखको ध्येय हो।
यसको निमित्त कसरी जाने त ?
यसको लागि कृषि, उद्यम, उद्योग ,पर्यटन ,व्यवसाय, शिक्षा, खेलकुद तथा अन्य क्षेत्रका साथै जनप्रतिनिधिहरू समेत बसेर, भेला गरेर सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी महोत्सव बृहत्तर समिति बनाउनु राम्रो हुन्छ।
त्यस भेला बैठकबाट समिति र सचिवालय बनाई महोत्सवको उद्देश्य , मोडालिटी र सहभागिताका क्षेत्र तय गर्ने। त्यसले पर्याप्त समय लिएर पुनर्वासका सबै पक्षहरूलाई उजागर गर्ने गरी योजना बनाउनु जिम्मेवारीका क्षेत्रहरू बाँडफाँड गर्नु उपयुक्त हुन्छ ।महोत्सवलाई सीमित घेराभित्र होइन सबैको साझा दायित्वभित्र पुर्याउनु पर्दछ ।
कृषि
कृषि समेट्नुपर्ने एउटा महत्वपूर्ण क्षेत्र हो। त्यस प्रयोजनका लागि………
१. कृषि शाखासँग समन्वय गरेर कृषक समूहका माध्यमबाट उत्कृष्ट कृषकहरूसंग अन्तर्कृया गरी
उनीहरूका चुनौती , अवसर तथा अनुभव लिनु पर्दछ। । ती किसानले आजसम्म गरिराखेका कामहरू अनि उत्पादित वस्तुहरू प्रदर्शनी गर्ने वातावरण बनाउने । उत्पादन बिक्रीको लागि पनि राख्ने ।यसमा सबै सम्भव नहुन सक्छ । अनुगमन समिति बनाएर त्यसको लेखाजोखा र मूल्याङ्कन गर्ने ।
हरेक क्षेत्रको उत्कृष्ट किसान छनोट गरी ती किसानहरूलाई मञ्चमा सम्मानित गर्ने र एक दुई जनाले मंचबाट आफूले गरेको कामको अनुभव सुनाउने । यस बाट अरूले सिक्ने मौका पाउँछन् ।
२ .स्थानीय परिकार प्रबर्धन : (फुड फेस्टिभल जोड्ने ) हाम्रा विभिन्न समुदायका स्थानीय परिकारहरू पर्याप्त मात्रामा छन्।माडा ,डुब्का लगायत अन्य परिकार र छाँज छाई संगै अन्य अन्य समुदायका परिकारहरू ल्याउनुपर्दछ। ती परिकार बनाउनेलाई पहिले नै तालिम दिनु पर्दछ। उनीहरूलाई अत्यन्त सहुलियत दरमा स्टल राख्न अनि त्यसलाई फुड फेस्टिभलको रूपमा जोड्न सक्ने हो भने घरघरका त्यस्ता उत्पादनले सामान्य किसानलाई प्रोत्साहित गर्दछ ।त्यसरी स्टलहरू राखिसकेपछि दर्शकहरू ग्राहकहरूलाई आकर्षण गर्ने तरिका र कला पनि सिक्नु र सिकाउनु पर्दछ।
अर्को कुरा , तिनै किसानमध्यबाट पनि मूल्याङ्कन गरेर उत्कृष्ट व्यवसाय गर्ने उत्कृष्ट उत्पादन गर्नेहरूलाई पुरस्कृत गर्न सकिन्छ। साथै ,अर्गानिक खाने कुराहरूको व्यवस्थापन गर्न उपयुक्त हुन्छ ।
शिक्षा
शिक्षा शाखा र विद्यालयहरूसँग समन्वय गरेर विद्यार्थीहरूका प्रतिभाहरू र विद्यालयले गरेका उपलब्धिपूर्ण कामहरूको प्रदर्शन गर्न सकिन्छ। यसले महोत्सवलाई थप उचाइ दिन्छ ।
यसले शैक्षिक क्षेत्रका मान्छेका साथै विद्यार्थीहरूलाई आकर्षित गर्छ र त्यसबाट केही सिक्ने अवसर प्राप्त हुन्छ। विद्यालयहरूले भ्रमण तालिका बनाएर आफ्ना नानीबाबुहरूलाई स्वस्थ्य मनोरञ्जन र शैक्षिक उपलब्धि अवलोकन गराउन सक्ने हुन्छन्।
यहाँ पनि प्रतिभा छनोट एवं पुरस्कृत गर्न सकिन्छ। जस्तै, विद्यार्थी , समूह ,विद्यालय तथा शिक्षा र विज्ञानको क्षेत्रमा काम गरेका अगुवालाई प्रोत्साहन गर्न सकिन्छ ।यहीं रहेका त्यस्ता प्रतिभा र जनशक्तिलाई उचित जिम्मेवारी प्रदान गर्न सकिन्छ।
उद्यम
पुनर्वास क्षेत्रभित्र अहिले पनि कतिपय युवाहरूले उदाहरणीय कामबाट आय आर्जन गरिराखेका छन्। महोत्सवमा उनीहरूलाई प्रोत्साहन गर्ने योजना ,नीति बनाउँदै त्यस्तो अवसर प्रदान गर्नुपर्छ।
त्यसबाट अरूले पनि सिक्न सक्छन्।यो एउटा महत्त्वपूर्ण पक्ष हो। त्यसरी नै ,महिलाहरूले कतिपय ठाउँमा सीपमूलक काम गरेका छन्।ती सीपमूलक कामहरूको पनि प्रदर्शनी गर्नुपर्दछ।यहीँका कतिपय सहकारीहरूले आफ्ना वस्तु उत्पादन गरिरहेका छन्। ती उत्पादनहरू महोत्सवमा ल्याउने वातावरण मिलाउन सक्नुपर्छ।
त्यस्तै,हाम्रा परम्परागत सीप र कलाहरू पनि छन्। ती कहीँ कतै लुकेर बसेका छन्। तिनलाई उजागर गर्नु पनि यस्ता महोत्सवहरूको दायित्व हो। थारू समुदायका महिलाहरूमा रहेको उत्कृष्ट सीपलाई तालिम दिई अझ कलात्मक र उपयोगी वस्तु बनाई प्रदर्शनीमा ल्याएर मार्केटिङ गर्नुपर्दछ।
त्यसरी नै विभिन्न समुदायमा रहेका सबै विशेषताको प्रतिनिधित्व र सबै प्रतिभाहरूलाई प्रोत्साहन गर्ने हो भने महोत्सव को गुणस्तर र महत्व बढ्दछ।
कला,संस्कृति
राष्ट्रिय कलाकारहरू आएर आफ्नो कला प्रदर्शन गरे । मुख्य आकर्षणको केन्द्र त्यही भयो, त्यो राम्रो पक्ष हो। त्यसो नगरिकन मेला चल्न पनि सक्दैन। तर हाम्रो यहाँका विविध समुदायका सांस्कृतिक झाँकीलाई स्टेजमा निकालेर स्टेजबाट प्रदर्शन गर्ने वातावरण बनाउन हामीले अझै सकेका छैनौँ।
संगठित रूपमा त्यस्ता प्रदर्शनीहरूलाई प्रोत्साहन गरेपछि त्यसले अर्कै रौनकता दिन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको प्रतिभाहरूको सम्मान हो। खेलकुदको क्षेत्रमा पुनर्वासका प्रतिभाहरूले के कति प्रगति गरेका छन् यस्ता महोत्सवहरूमा सम्मानित हुनुपर्छ।त्यसरी नै विज्ञान ,साहित्य ,संगीत, कला, खेल, व्यवसाय, सामाजिक अभियन्तासंगै कुनै पनि क्षेत्र असम्बोधित नरहनु महोत्सवको गरिमा बढ्नु वा बढाउनु हो ।
यसो गर्नु महोत्सवको रौनकता थपिनु हो। गुणस्तर बढ्नु हो। महोत्सव भनेको मनोरञ्जन मात्र होइन, एउटा भेला मात्र होइन । अथवा, यो कुनै कन्सर्ट मात्र होइन । यसले सबै क्षेत्र समेट्नु पर्दछ । त्यो यस मानेमा पनि कि, यस पालिकाभित्र कम्तीमा पनि महोत्सव नामको अर्को कुनै त्यस्तो विशाल आयोजन छैन ।
त्यसमा पनि विशेषतः स्थानीय सरकार प्रत्यक्ष संलग्न रहेको सन्दर्भमा स्थानीय सरकारको तर्फबाट सबै क्षेत्रमा दिग्दर्शन हुनुपर्ने हुन्छ ।त्यो दिग्दर्शनलाई योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने हुन्छ। यसो भनिरहँदा यहाँ कुरो उठ्न सक्छ। “महोत्सव लगाउने हो ,यो कृषि प्रदर्शनी वा शैक्षिक प्रदर्शनी पनि होइन। सारा क्षेत्रहरू समेट्ने कार्यक्रम यो होइन । अन्य क्षेत्रमा पनि यस्तो गर्दैनन् ।
यो त उद्योग बाणिज्य संघले निश्चित क्षेत्र र समय तोकेर सीमित स्रोतमा आयोजना गरेको व्यापारिक मेला मात्र हो। यसमा कार्यक्षेत्र, उद्देश्य वा जनशक्तिको सीमितता हुन्छ । ती यावत् पक्षहरू समेट्न सम्भव छैन।”
एक अर्थमा यो स्वाभाविक तर्क भएता पनि पुनर्वासलाई आफ्नै मोडल ,आफ्नै तरिकाले सबैको सहभागिता, सबैको सहयोग, सबैको विकास, सबैको साथमा अलि फरक मोडलको महोत्सव आयोजना गर्न किन नसक्ने ? यसतर्फ किन नसोच्ने ? यसको तयारी कम्तीमा चार पाँच महिनाअघिबाटै नगरे त आयोजन गर्नु सम्भव छैन।
त्यस्तै ,महोत्सवको उपयुक्त समय पनि निर्धारण गर्नुपर्छ।पुनर्वासको यो सुन्दर बसोबासको, यो इन्द्रेणी संस्कृतिको अनुहार सर्लक्क त्यहाँ प्रतिबिम्बित हुन सक्यो भने आगामी दिनमा पुनर्वासको महोत्सव नमूना हुनेछ र बाहिरबाट पनि दर्शकहरू आउने सम्भावना बढ्छ। यसो गर्न सकियो भने सबै क्षेत्र, सबै पक्षको महोत्सवप्रति अपनत्व जाग्छ र महत्त्वपूर्ण सफलता प्राप्त गर्न सकिन्छ। यसले पुनर्वासको विविध पक्षलाई समुन्नत बनाउन सहयोग गर्नुका साथै रुग्ण आर्थिक गतिविधिमा नयाँ रक्तसंचार गर्न सक्छ। आगामी दिनमा यी कुरामा ध्यान पुर्याउने कि ?
(लेखक नेपाल कञ्चनपुरको पुनर्वासमा आफ्नो जीवनकाल शैक्षिक पेशामा बिताएका व्यक्ति हुनुहुन्छ । उहाँले महोत्सवबारेको सामान्य टिपोट हो।यो आफैमा पूर्ण छैन। विज्ञजन, पाठकहरू तथा सम्बन्धित पक्षबाट यसलाई पूर्ण बनाउन सुझाव प्राप्त हुनेछन् भन्ने अपेक्षा राख्नुभएको छ ।)















