
पुनर्वासमा ५ दिने बाख्रा पालन तालिम सम्पन्न
पुनर्वास– कञ्चनपुरको पुनर्वासमा ५ दिने बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच पुनर्वास–३, आई.बी.आर.डी. स्थित जनकल्याण माध्यमिक बिधालयमा पुनर्वास नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा ५ दिने बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको हो ।
पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर तामाङको सभापतित्व तथा पशु सेवा शाखा पुनर्वासका प्रमुख अनिता केसीको प्रमुख आतिथ्यतामा सो तालिमको समापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पशु सेवा शाखाका प्रमुख केसीले ५ दिने तालिमले सहभागीमा परिवर्तन ल्याएको बताईन । उनले तालिममा सिकेको बाख्रा पालन र गोठ सुधारका पक्षलाई व्यवसायिक तरिकाले निरन्तरता दिन सके प्रभावकारी बन्ने जानकारी दिईन ।
कार्यक्रमका सभापति वडाध्यक्ष तामाङले तालिम लिनु मात्रै ठुलो कुरो हैन्, यसबाट जिवनस्तरमा सुधार आउनुपर्ने बताए । उनले आगामी वर्षहरुमा तपाईहरुको बाख्रा पालनबाट जीवनस्तरमा सुधार ल्याउन सके कार्यक्रम प्रभावकारी बन्ने, नभए बालुवामा पानी खन्याउनु सरह हुने धारण व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा सहभागीहरुले तालिम लिनु अघि पनि बाख्रा पालन गरिरहेका थियौ, तर पौष्टिक आहार र कुन जातका, कस्ता खाले पाल्ने त्यो थाहा नभएको बताएका थिए । सिकेको ज्ञानको पूर्ण कार्यान्वयन गर्दै व्यवसायिक बाख्रा पालन तर्फ उन्मूख हुने उनीहरुको भनाई थियो ।
पुनर्वास नगरपालिका–१, २, ३, ५, ६, ८ र ९ का ५० वर्षमूनिका ३० जना एकल महिलाहरुलाई तालिमसँगै प्रतिव्यक्ति पाँच हजारका दरले बाख्रा खरिदका लागि दिईएको सो कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख रिता मल्ल, शाखाकै प्रतिनिधि पार्वती भट्ट र पशु प्राविधिक भागाराम राना अतिथीमा आसिन थिए ।