
सुदूरपश्चिममा सडक दुर्घटना बढ्दो, वर्षमै २०५ जनाको मृत्यु
धनगढी -सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाको जोखिम वर्षेनी बढ्दै गएको देखिएको छ। चालकको लापरबाही, तीव्र गति, सडक पूर्वाधारको कमजोरी, सवारी साधनको प्राविधिक अवस्था र यात्रुको असावधानीका कारण दैनिकजसो दुर्घटना हुँदा मानवीय क्षतिसँगै ठूलो आर्थिक तथा सामाजिक असर पनि परेको छ।
शनिबार डडेल्धुरामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कैलालीमा मोटरसाइकल दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन्। यसअघि असार २७ गते बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते भएका छ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज उपचारका लागि पठाइएको थियो।
यी घटनाले प्रदेशमा सडक सुरक्षाको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाउँछन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिमका नौ जिल्लामा भएका सडक दुर्घटनामा २०५ जनाको मृत्यु भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १९२ र २०८०/८१ मा १७२ जनाको मृत्यु भएको थियो। तथ्याङ्कले सडक दुर्घटनाबाट हुने मृत्युदर निरन्तर बढिरहेको देखाएको छ।
दुर्घटनाको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर १ हजार ४७३ वटा सडक दुर्घटना हुँदा २ हजार ३४३ जना घाइते भएका छन्। आर्थिक वर्ष २०८१/८२ मा १ हजार २०३ दुर्घटनामा २ हजार ४ जना घाइते भएका थिए भने २०८०/८१ मा ३०९ दुर्घटनामा ५३६ जना घाइते भएका थिए।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि दैनिक घटना रिपोर्टिङ प्रणाली (डिआइआरएस) लागू भएपछि साइकलदेखि ठूला सवारीसम्मका सबै सडक दुर्घटनाको अभिलेख राख्न थालिएको छ















