
बेलौरीका लेखा प्रमुख नेपाल भन्छन् : रकम भुक्तानी नदिँदा समाचार मार्फत मेरो बदनाम गर्न खोजियो
बेलौरी– बेलाबेलामा विभिन्न कारणले चर्चा पाइराख्ने कञ्चनपुरको बेलौरी नगरपालिकाले फेरि बेरुजुको प्रसङ्गबाट चर्चा पाएको छ ।
बेलौरी नगरपालिकाका लेखा प्रमुखको जिम्मेवारीमा रहेका ओमप्रसाद नेपालको लापरवाहीका कारण नगरपालिकामा बेरुजु बढेको भन्ने समाचारले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको हो।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बेलौरी नगरपालिकाको हालसम्मको बेरुजु रकम ३४ करोड ८५ लाख ६२ हजार देखाएको थियो।
सो विषयमा बेलौरी नगरपालिकाका लेखा प्रमुख नेपालसँग कुराकानी गर्दा बेरुजु मेरो कारणले भनेर प्रकाशित समाचारप्रति आफ्नो कडा आपत्ति रहेको बताए ।
” महालेखा परीक्षकले देखाएको बेरुजु रकम कार्यालयगत प्रक्रियासँग सम्बन्धित हो। केही रकम ठेक्काको पेश्की भएको र फर्छ्योट हुन बाँकी छ ।”उनले भने,” त्यो मेरा कारणले भनेर लेखिएको समाचार म माथिको पूर्वाग्रही ढङ्गले प्रस्तुत गरिएको छ।”
समाचार प्रकाशित गरेका मिडियाले केही बिलहरू भुक्तानीका लागि लेखा शाखामा ल्याएका थिए । पत्रमा कार्यालयको चलानी नभएका कारण पेश गरिएको बिल रकम भुक्तानी रोकेको लेखा प्रमुख नेपालको भनाइ छ।
भुक्तानी रोकेपछि मिडिया सञ्चालकहरूले मलाई केही समय अगाडि देखि बारम्बार भेट्न र कतै घुम्न गएर मस्ती गरौं भन्ने जस्ता प्रस्ताव गर्दै ट्र्यापमा पार्न खोजिरहेका थिए। जब मैले त्यो अस्वीकार गरेँ, तब समाचारमार्फत बदनाम गर्ने प्रयास भएको लेखा प्रमुख नेपालको आरोप छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको बेरुजु रकमका विषयमा नगरपालिकाले आन्तरिक प्रक्रियागत फछ्र्योट भइरहेको जनाएको छ।
















https://shorturl.fm/3TovC