७ वर्षदेखि जुत्ताचप्पलमा भविष्य खोजेका बेलौरीका रावतले पाएनन् स्थानीय सरकारको साथ
बेलौरी, मंसीर –
‟दुःख पीडा बिर्सदै म आएँ
परदेश बाट फर्कि आएँ
आफ्नै गाउँ फर्कि आएँ
नयाँ नयाँ सपना ल्याएँ”
गीतकार रत्न शमशेर थापाका पंक्तिले भनेझैँ कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नं ६, हात्तीबोझाका श्याम सिंह रावत ७ वर्ष अघि हातमा जीवनको डोर थाम्न भरलाग्दो सीप र त्यसभन्दा अझ बढि परिवारसँग साथै बसेर हासखेल गर्ने हो अब त भनि घरि विगतका यादहरुमा चुर्लुम्म डुबेर त घरि आफैलाई झस्काउदै भविष्यको सपनाको पोको बोकेर स्वदेश फिर्ता भए ।
पहाड घर दार्चुलामा जन्मेका उनको सानै उमेरमा विवाह भयो । पछि उमेरको वसन्तले १८ मात्रै छोएको बखत नजिकिदै गरेको एस.एल.सी.परीक्षाले शैक्षिक जीवनको ढोका ढक्ढकाउदै गर्दा साथीभाईसँगको हुटहुटीमा पढाईलाई पूर्णविराम लगाउदै घरजिल्लाले छोएको देश भारततर्फ प्रस्थान गरे । अर्काको देश, हातमा शुन्य सीप, गरिखाने मेशो समाउन गाउँका दाजुभाईहरुले चप्पल तथा जुत्ता बनाउने कम्पनीमा लगाईदिए र सुरु भयो जीवनको संघर्ष । ‟आर्मीको ड्युटिभन्दा पनि कडा थियो । १२ घण्टा उभिएर काम गर्नुपर्ने, झाडु पोछा लगाउने, जुत्तामा हाल्ने दानाको भारी कट्टा बोक्नुपर्ने हुन्थ्यो ”, उनी विगतलाई सम्झिन्छन् । ‟त्यसरी केहि समय कटाएँ । पछि मेशिनमा त बसेँ तर कसैले सिकाउदैनथे । जान्नेहरुले काम गरेको देखेको भरमा मैले पनि बिस्तारै जुत्ता, चप्पल बनाउन सिके ।” यसो भन्दा उनको मुहारमा गर्वभावको मुस्कान देखिन्छ । ‟अब काम बिग्रिए त साहुको गाली खाईन्छ नि । हर्जाना पनि तिर्नपथ्र्यो कहिले त । जेहोस् जसोतसो आखिर सीप चाँहि सिकेरै छोडे ।” फुत्त हासोको फोहरा निकाल्दै आफ्नो सफलता सुनाउछन् ।
करिब १५ वर्षजसो भारतमा रहि काम गरेका रावतलाई अब भने अर्को देश जाने सोच आयो । यतिबेलासम्म उनको परिवार बेलौरी झरिसकेका थिए । नेपाल आएर सबै कागजात र प्रक्रिया मिलाई खाडी मुलुक ‛दुबइ’ लागे । तर उनको त्यो भिजिट भिसा थियो । लुकिछिपी काम गर्नपर्ने र भनेजसो तलब नमिलेपछि अब भने विदेशको रहर सर्लक्क मारेर स्वदेश फिर्ता भए । ‟हातमा पहिलाकै सीप थियो । त्यसैले अब त्यहि सीप प्रयोग गरेर घरपरिवारसँगै बस्छु भनेर आएँ । फेरि बा–आमा पनि बुढाबुढी भईसक्नुभएको थियो,” उनी बताउछन् ।
नेपाल आएपछि भने अब उनलाई लगानीकाे स्रोत जुटाउन आपत भयो । व्यवसायीक योजनाको खाका लिएर वडा कार्यालय धाए, तर वडाबाट आशातीत जवाफ पाएनन् । तब घरपरिवार, साथीभाई र आफन्तसँगको सहयोगमा ऋण जुटाएर रु.५ लाखको लगानीमा चप्पल कारखाना खोले । दुईचारजना सहयोगीको साथ लिएर सुरुवात गरेको चप्पल व्यवसायले सोचे अनुसारको उपलब्धि मिल्यो । ‟बिस्तारै जाडो महिना लाग्दै गयो । अब त मान्छेहरु जुत्ता लगाउने हुन् भनेर मलाई जुत्ताको काम पनि गर्न मन लाग्यो,” रावत सुनाउछन् । ‟तर त्यहि त हो, उस्तै समस्या । जति ठुलो व्यवसाय, त्यति ठुलो लगानी । भन्नुको मतलब कर्जा बढि”, आफैमा व्यङ्ग्य भाव दिदै केहि खितखिताउछन् । पुनः अझ ठुलो लगानीमा उनले जुत्ता बनाउने मेशिन ल्याए । पहिले त घरकै एउटा कोठामा काम गर्ने गर्दथे । तर पछि भने ठाउँ ठुलो चाहिने हुनाले घरनेरै अर्धपक्कि कोठा बनाएर करिब ४० लाखको लगानीमा जुत्ताको काम सुरु भयो ।
जुत्ताको काम पनि राम्रै हिसाबले अघि गयो यद्यपि कोरोनाको महामारीले उनको उठ्दै गरेको व्यवसायलाई नराम्ररी झड्का लायो । ऋणको भारी, कर्मचारीको तलबभरण र बिस्तारै घरव्यवहारको भार पर्दै गएकोले उनी केहि हडबडाए । जसोतसो जीवनको पैया घुमाउदै अघि बढे । पुनश्चः रसिया र युक्रेनबीचको युद्धले समग्र विश्वमा निम्त्याएको आर्थिक मन्दिले उनको व्यवसायलाई पनि प्रभाव पार्यो । ‟तैपनि म काम गरिरहेको छु । यसपटक भने हिम्मत हारेको छैन । अब काम गरेपछि त कहिले राम्रो दिन हुन्छ, कहिले घाटा पनि सहनपर्ने हुन्छ नि”, रावतको भनाई छ ।
सीप र मार्केटिङ्गको राम्रो ज्ञान भएको हुँदा उनको उत्पादन अहिले स्थानीय बजार मात्र नभई सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा समेत पुग्ने गरेका छन् । लेडिज जेन्ट्स दुवैलाई लक्षित गरि तयार पारिने जुत्ताहरु अहिले प्रयोगकर्तामाझ लोकप्रिय भएको उनी सुनाउछन् । ‟रेडिमेड जुत्ताहरु टिकाउ मान्दैनन् । तर हामीले बनाएको जुत्ता ५ वर्ष भयो लगाएको, अहिलेसम्म एउटा सिलाई उप्किएको छैन भन्छन् ग्राहकहरु ।” कलेजका छात्राहरुबीच पनि जुत्ता लोकप्रिय भएको रावत बताउछन् । ‟अहिलेसम्म आउदा ठिकै छ, परिवारसँग बस्न पाएको छु । दुईचारजना भाईहरुलाई पनि रोजगारी मिलेको छ । त्यहि हो, ऋण चाहि अझै घटाउन सकेको छैन ।”
राम्रो भविष्य बनाउने सपनामा लाखौँ युवा विदेशिरहदा उनी भने स्वदेशमै सीपको उपयोग गरि मिहेनत गरिरहेका छन् । अर्कोतर्फ स्थानीय सरकारले समेत युवाका लागि भनेर विभिन्न अवसरहरु उपलब्ध गराईरहेको हुन्छ । यद्यपि श्याम सिंह रावतजस्ता युवाहरु पनि स्थानीय सरकारको नजरबाट ओझेल भईरहेका छन् । बेरोजगार युवाले त स्थानीय सरकारबाट बेरोजगार युवाको रुपमा कामको अवसर पाएका हुन्छन् भने आफु जस्ता सीपयुक्त युवाले जनसमुदायको लागि क्षमता अनुसारको रोजगारी सिर्जना गरेर स्थानीय उत्पादन गर्छु, आफु सँगै गाउँठाउँको आर्थिक विकास गर्छु भन्दा स्थानीय सरकारले किन चासो नदिएको होला है ? उनको प्रश्न छ । वडाबाटै आशाको बाटो बन्द भएको कारण नगरपालिका पनि उस्तै असहयोगी होला नि भन्दै त्यहाँसम्म नपुगेको उनी बताउछन् । ‟चाडै बिहे गरेँ, पढाई पनि त्यस्तै भयो, तर अब छोराछोरीलाई राम्रो लेखाईपढाई गर्छु । गाउँमै बसेर दाजुभाई दिदिबहिनीको लागि मैले जानेको सीपको उत्पादन दिन्छु । त्यहि हो वडा र नगरपालिकाबाट केहि आर्थिक सहयोग हुनसके मेरो हौसला अझ बढ्ने थियो ।”
हुन त सरकारको निति नै स्वरोजगार बनाउने छ । स्वरोजगारमा सरकारको लगानी देखिन्छ तर उद्यमी रावत जस्ता व्यक्तिहरु स्थानीय सरकारकै पहँच बाहिर सुन्दा निकै आश्चर्य लाग्छ । स्थानीय सरकारले आफ्नामुखी नभई आफ्ना क्षेत्रका स्थानीय उत्पादक उद्यमीहरुलाई चिन्न सके व्यक्तिको आर्थिक अवस्था सुधार मात्रै हैन, समग्र पालिकाको समेत आर्थिक पक्षमा सुधार हुने देखिन्छ । तसर्थ यसतर्फ स्थानीय सरकारको ध्यान केन्द्रित हुन जरुरी छ ।