
सीमावासी देशका ‘जीवित पिलर’, ड्रग्स नियन्त्रणमा सुरक्षाकर्मीको कडा प्रतिबद्धता
सीमा सुरक्षालाई जनमुखी बनाउने, सीमा क्षेत्रका वास्तविक चुनौती बुझ्ने तथा नागरिक–सुरक्षाकर्मीबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, सञ्चारकर्मी तथा सीमावासी नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीले सीमा क्षेत्रमा बढ्दो लागूऔषध ओसारपसार र दुर्व्यसन नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए। साथै, दैनिक उपभोगका घरायसी सामान तथा कृषि मल ढुवानीमा आवश्यक जाँचबुझसहित व्यावहारिक सहजीकरण गरिदिनुपर्ने माग पनि राखिएको थियो।
छलफलका क्रममा भारतबाट अवैध रूपमा भित्रिने अखाद्य वस्तु तथा प्रतिबन्धित पेय पदार्थले जनस्वास्थ्य र जनजीवनमा नकारात्मक असर पारिरहेको भन्दै यस्ता सामग्री नेपाल प्रवेश हुन नदिन सीमा नाकामा चेकजाँच थप कडा बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
स्थानीयहरूले विगतका प्राकृतिक विपद्का समयमा सशस्त्र प्रहरीले ज्यानको बाजी लगाएर गरेको उद्धार कार्यको प्रशंसा गर्दै आगामी वर्षायाममा सम्भावित बाढी र डुबानबाट जनधनको सुरक्षा गर्न उच्च सतर्कता र पूर्वतयारी कायम राख्न आग्रह गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयाप्रसाद शर्माले सीमा क्षेत्रको विकास र नागरिकको सुरक्षाका लागि स्थानीय सरकार सशस्त्र प्रहरीसँग पूर्ण सहकार्य गर्न तयार रहेको बताए।
विशिष्ट अतिथि नम्बर ७ वैद्यनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले सीमामा बस्ने नागरिकहरू नै देशका वास्तविक ‘जीवित पिलर’ भएको उल्लेख गर्दै स्थानीयले उठाएका लागूऔषध नियन्त्रण, अवैध तस्करी रोकथाम र विपद् पूर्वतयारीसम्बन्धी विषयलाई तत्काल कार्यान्वयन गर्न मातहतका युनिटलाई निर्देशन दिएका छन्।
उनले नागरिकप्रति शिष्ट र व्यावसायिक व्यवहार कायम राख्न तथा गैरकानुनी गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउन सबै कमाण्डरलाई निर्देशन दिएका छन्।
सोही अवसरमा पुनर्वास नगरपालिकाले रबर बोट, लाइफ ज्याकेटलगायत विपद् उद्धारका सामग्री सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको थियो।















