
कैलाली र कञ्चनपुरबाट खैरो हेरोईन र चरेशसहित एकै दिन १० जना पक्राउ
धनगढी- कैलाली र कञ्चनपुरबाट खैरो हेरोईन र चरेश तथा बिभिन्न ट्याब्लेटसहित एकै दिन १० जना पक्राउ परेका छन्।
यसैगरी घोडाघोडी नगरपालिका–५ देउकलियाबाट सोही नगरपालिका साडेपानी बस्ने १९ वर्षीय पुर्णबहादुर बिष्ट र १९ वर्षीय सुरज नेपालीलाई नियन्त्रित लागूऔषध नाइटाजिम ट्याब्लेट १७० पिस र चक्कु थान १ सहित बिहीबार बेलुका इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
यस्तै धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट ४८० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २८ वर्षीय जिवनबहादुर खड्का र कञ्चनपुरको पुनर्बास नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरीलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सेवन गरि रहेको अवस्थामा दुबैको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको बताएको छ।
उता कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने ३२ वर्षीय हर्कबहादुर देउवा र सोही नगरपालिका–६ सिङपुर बस्ने ३६ वर्षीय दिलबहादुर चौधरीलाई बिहीबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो।
यसैगरी, दोधारा चाँदनी नगरपालिका–२ लठ्ठाघाट स्थित सोही ठाउँ बस्ने ४० वर्षीय गोर्खे दमाईले सञ्चालन गरेको पसलबाट ९ ग्राम ८३० मिलिग्राम लागूऔषध चरेशसहित निज र निजको १८ वर्षीय छोरालाई विहीबार साँझ इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चरेशसहित बुवा छोरालाई पक्राउ गरेको हो।
यस्तै शुक्लाफाँटा नगरपालिका–१० नगरपालिका रोडबाट २१.४७ ग्राम चरेशसहित सोही नगरपालिका–९ सिसैया बस्ने ७० वर्षीय भिमबहादुर ऐरलाई विहीबार साँझ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले संकास्पद बसि रहेको अवस्थामा चेकजाँच गर्दा चरेश फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

























