
गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै
धनगढी- गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा चैत २५ गते गेटामै बस्ने भएको छ। यसअघि दुईपटक संघीय राजधानीमा बसेको बैठक यसपटक पहिलोपटक विश्वविद्यालय परिसरमै आयोजना हुन लागेको हो। बैठकमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियमावली र कार्यविधि पारित गर्ने तयारी गरिएको छ।
विश्वविद्यालय स्थापना अभियानमा सक्रिय समन्वय समितिले एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ। आइतबार बसेको समितिको बैठकले चैत २५ गतेको सभालाई लक्षित गर्दै स्थानीय सरोकारका विषय उठाउने, विश्वविद्यालय परिसरमा सहिद दशरथ चन्दको सालिकसहित पार्क निर्माणको माग गर्ने लगायतका निर्णय गरेको छ।
समितिका संयोजक लोकराज पाण्डे (आगो) का अनुसार बैठकमा स्थानीय र सरोकारवालाका विषयहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने योजना बनाइएको छ। उनले विश्वविद्यालय सञ्चालनमा सहयोग र समन्वय कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र पार्क निर्माणको जिम्मा समितिले लिन सक्ने गरी पहल अघि बढाइएको जानकारी दिए। साथै, आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न आवश्यक बजेटका लागि दबाब दिने तयारी गरिएको छ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि ७७ शिक्षक पदमा दरखास्त आह्वान गरिएकोमा ३०४ जनाले आवेदन दिएका छन्। वैशाख महिनादेखि छनोट प्रक्रिया सुरु गरिने जनाइएको छ।


























