
सुदूरपश्चिमका कृषि मन्त्री थापाद्वारा पुनर्वास महोत्सवको उद्घाटन
पुनर्वास-“हाम्रो पुर्नवास, राम्रो पुर्नवास” भन्ने मूल नारासहित कञ्चनपुरको पुनर्वासमा महोत्सव सुरु भएको छ ।
पुर्नवास उद्योग वाणिज्य संघको आयोजनामा पुर्नवास नगरपालिका-३ स्थित ६५ बिघा क्षेत्रमा सोमबार सुदूरपश्चिम प्रदेश भूमि, व्यवस्थाप, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाद्वारा पानसमा बत्ती बाल्दै दोस्रो “पुनर्वास महोत्सव” को उद्घाटन भएको हो।
१५ वर्षको अन्तरालपछि सुरु गरिएको महोत्सवको को उद्घाटन समारोहमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझीको सभाध्यक्ष तथा विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा र पूर्व नगर प्रमुख जीवनराज थापा आसिन हुनुहुन्थ्यो। त्यस्तै, विभिन्न व्यक्तित्वहरूको अतिथ्यता रहेको थियो ।
महोत्सवको उद्घाटनका क्रममा सुदूरपश्चिमका कृषि मन्त्री थापाले यस महोत्सवले स्थानीय आर्थिक, कृषि तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले महोत्सवको सफलताको शुभकामनासँगै महोत्सवलाई सफल बनाउन मन्त्रालयबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै ,विशिष्ट अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले महोत्सव सफलताको शुभकामना दिनहुँदै स्थानीय किसानले उत्पादन गरेका विभिन्न कृषि उपजको प्रदर्शनी र बजारीकरण तर्फ सहयोग पुग्ने जानकारी दिनुभयो।
यसैगरी, कार्यक्रमका सभाध्यक्ष तथा संघका अध्यक्ष राज कुमार रायमाझीले स्थानीय कृषि, पर्यटन, धार्मिक र सामाजिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। आफूले उत्पादन गरेका कृषि उपज, विभिन्न कलात्मक वस्तुहरू प्रदर्शनीमा ल्याउन र महोत्सव अवलोकनका लागि आउन सबैमा अपिल गर्नुभएको थियो।
१ सय १५ वटा स्टल रहेको महोत्सवमा विभिन्न व्यवसायिक सामग्री, घरेलु उद्यम, स्थानीय मौलिक खानाका परिकार तथा कृषि उत्पादनको प्रदर्शनी छन् । भने पश्चिम नेपालका थारु समुदायको संस्कृति झल्काउने विशेष स्टल पनि राखिएको छ।
संघका महासचिव दाउत तामाङले महोत्सवमा करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो।
महोत्सव अवधिभर बाल उद्यानसहित स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने उद्घाटन कार्यक्रमका उद्घोषक तथा पुनर्वास नगरपालिकाका योजना अधिकृत शंकर बोगटीले जानकारी दिनुभयो।
चैत्र ५ गतेसम्म सञ्चालन हुने महोत्सव अवलोकनका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ भने जेष्ठ नागरिकलाई विशेष सहुलियत प्रदान गरिने जनाएको छ।
















