
पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयको ५४ औँ वार्षिक उत्सव समारोह सम्पन्न
पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–८, पृथ्वीबस्ती स्थित श्री बागीश्वरी माध्यमिक विद्यालयले आफ्नो ५४ औँ वार्षिक उत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ।
शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित समारोह अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रमका सभाध्यक्ष पुनर्वास–८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राना श्रवण रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी, विशिष्ट अतिथिहरूमा पूर्व नगरप्रमुख जीवनराज थापा, शिक्षा शाखा प्रमुख शिवराज भट्ट र साना किसान सहकारी संस्था परासनकी प्रबन्धक अमृता गौतम सुवेदी लगायत विभिन्न व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
समारोहमा विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास तथा अतिरिक्त क्रियाकलापहरूको प्रगतिबारे विस्तृत जानकारी गराउनुभयो।

त्यस्तै, आर्थिक प्रतिवेदन शिक्षक चण्डीप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नगरप्रमुख शर्माले विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गर्दै सामुदायिक विद्यालयहरूको गुणस्तरीय शैक्षिक सुधारका लागि नगरपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो।
उहाँले शिक्षा क्षेत्रमा लगानी र सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
उत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य तथा गायन प्रस्तुति दिँदै उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रमको सञ्चालन शिक्षक नेत्रप्रसाद उपाध्यायले गर्नुभएको थियो।

















Start profiting from your network—sign up today!