
पुनर्वासमा गन्ज बहादुर बानियाद्वारा स्वर्गीय छोरीको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित श्री बागेश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव समारोहका अवसरमा स्वर्गीय छोरीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।
सोही विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेकी स्वर्गीय पूर्णिमा बानियाको १२औँ स्मृति दिवसको सन्दर्भ पारेर उनका बुवा गन्ज बहादुर बानिया र आमा देवी बानियाले रु. १ लाख १० हजार रकमको अक्षयकोष स्थापना गर्नुभएको हो।
बानिया दम्पतिले छोरीको स्मृतिलाई सामाजिक कार्यसँग जोड्ने उद्देश्यले कोष स्थापना गरिएको जनाउँदै उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम गरिब तथा जेहेनदार विद्यार्थीहरूको अध्ययन सहयोगमा खर्च गरिने जानकारी दिनुभयो।
विद्यालयको वार्षिक उत्सव समारोहकै बीचमा घोषणा गरिएको उक्त योगदानले कार्यक्रमलाई भावुक र प्रेरणादायी बनाएको थियो। विद्यालय परिवारले स्वर्गीय पूर्णिमा बानियाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषप्रति कृतज्ञता व्यक्त गर्दै बानिया दम्पतिको सामाजिक भावनाको उच्च प्रशंसा गरेको छ।















