Above Article Ad
  • लालझाडीको मुहार सडक पूर्वाधार विकासले फेरियो

    Above Article Content Ad
  • कञ्चनपुर-एक समय दुर्गम क्षेत्रका रूपमा चिनिने कञ्चनपुरको लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको तीव्र विकाससँगै सहज र सुगम बन्दै गएको छ। वर्षायाममा हिलो र हिउँदमा धुलोले हैरान पार्ने यहाँका कच्ची सडकहरू क्रमशः कालोपत्रमा परिणत भएपछि स्थानीयको दैनिकीमा ठूलो परिवर्तन आएको छ।

    पहिले वर्षा सुरु हुनासाथ गाउँ बाहिरी संसारसँग टाढिन्थ्यो। बिरामी परे अस्पताल पुर्‍याउन समेत कठिन हुने अवस्था थियो। कञ्जका स्थानीय बलराम रानाका अनुसार सडकमा गोडासम्म हिलो जम्ने भएकाले एम्बुलेन्स आउनु त परै जाओस्, मान्छेले बोकेर लैजानसमेत समस्या हुने गथ्र्यो। हिउँदमा भने सवारी चल्दा उड्ने धुलोले घर, खेतीपाती र स्वास्थ्यमा प्रतिकूल असर पाथ्र्यो।

    Article inline ad #1
  • स्थानीय सरकार गठनपछि विकासले गति लिएको बताउँदै रामप्रसाद रानाले नदीमा झोलुङ्गे र पछि पक्की पुल निर्माण भएपछि आवतजावत सहज भएको अनुभव सुनाए। दोदा नदीको बल्मी क्षेत्रमा बनेको पक्की पुलले लालझाडीको पहुँचलाई नयाँ उचाइमा पुर्‍याएको उनको भनाइ छ।

    Article inline ad #2

    आफ्नै घरअगाडि कालोपत्र सडक देख्दा महेश्वरी राना अझै पनि अचम्म मान्छिन्। “यति राम्रो सडक बन्ला भन्ने कल्पनासमेत गरेका थिएनौँ,” उनले भनिन, “सङ्घीयता र स्थानीय जनप्रतिनिधिको प्राथमिकताकै कारण यो सम्भव भएको हो।”

    अहिले गाउँपालिकाका मुख्य केन्द्रदेखि भित्री बस्तीहरूसम्म कालोपत्र सडकको सञ्जाल विस्तार हुँदै गएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ। गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ र वडा नं १ का रणनीतिक सडक कालोपत्र गरिएको उनले जानकारी दिए।

    चालु आर्थिक वर्षमा थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने योजना अघि बढाइएको छ। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम, एडीबीको पीएलआर कार्यक्रम र चक्रपथ निर्माणमार्फत सडक विस्तार भइरहेको छ। साथै, कञ्चनपुरमै पहिलोपटक नगर अस्पताल निर्माण गर्ने पालिकाका रूपमा लालझाडी अब अस्पताल सञ्चालनको तयारीमा छ।

    पूर्वाधार विकाससँगै दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आएका छन् भने अन्य दुई पुल निर्माण अन्तिम चरणमा छन्। यी संरचनाले वर्षायाममा जोखिमपूर्ण नदी तर्नुपर्ने बाध्यताको अन्त्य गरेका छन्।

    सडक र पुल बनेपछि किसानले उखु र तरकारीजस्ता उत्पादन सिधै बजार र चिनी मिलसम्म पुर्‍याउन थालेका छन्। एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका कुनाकुनासम्म पुग्न थालेका छन् भने सडकछेउ नयाँ बजार, पसल र साना उद्योग खुल्दै स्थानीय युवालाई गाउँमै रोजगारीको अवसर सिर्जना भएको छ।

    सडक पूर्वाधारको विकाससँगै लालझाडी अब दुर्गमताबाट समृद्धितर्फ अग्रसर हुँदै गएको स्थानीयको भनाइ छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by