Above Article Ad
  • सेती प्रादेशिक अस्पतालको न्युन जनशक्ति, संरचनाको अभाव र अत्यधिक बिरामीहरुको चाप

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिमको प्रमुख स्वास्थ्य संस्था  सेती प्रादेशिक अस्पताल संरचनागत र जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भोगिरहेको पाईएको छ।

    सोमबार युवाहरुको स्वस्फूर्त एउटा समुहले अस्पतालको सेवा प्रवाह र वर्तमान अवस्थाबारे सोधपुछ गर्दा न्युन जनशक्ति, भौतिक संरचनाको अभाव र अत्यधिक बिरामीहरुको चापका बिच सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले  जनाएको छ।
    गत सोमबार बिष्णु खड्का, नितिश जोशी, सन्तोष रावल, किशोर बिष्ट लगायतका युवाहरुको एक समुह उक्त अस्पतालको अवस्थाबारे बुझ्न गएका थिए।

    Article inline ad #1
  • अवलोकनकर्ता सन्तोष रावलका अनुसार  बिरामीहरुसंग कुरा गर्दा बहिरंग सेवा  (ओपिडी) मा घण्टौँ लाईन लाग्नुपर्ने बाध्यता, पिउने पानीको सहि व्यवस्थापन नभएको, प्रसुती वार्डमा सुत्केरी महिलाहरुले अनावश्यक झन्झट खेप्नुपर्ने, बच्चा काखमा समातेर लाईन लाग्नुपर्ने लगायतका बाध्यता रहेको दुःख सुनाएका थिए। 

    Article inline ad #2

    अवलोकनका क्रममा युवाहरुसंग छलफल गर्दै अस्पताल प्रशासन र वार्ड इन्चार्जहरूले पनि विभिन्न समस्या तथा आवश्यकता औंल्याएका छन्। सेती अस्पतालका अस्पताल व्यवस्थापक वेद प्रकाश जोशीले सामान्य ओ.पि.डी, शल्यक्रिया, प्रसुती र फामेर्सी जस्ता बिरामहिरुको अत्यधिक चाप हुने सेवाका लागि भौतिक संरचना र जनशक्तिको चरम अभाव खेपिरहेको बताएका छन्।

    “बिरामीहरुको चाप अनुसारको संरचना हामीसंग नभएका कारण हामी समस्यामा छौँ” उनले भने, “तथापी लाईनको व्यवस्थापनका लागि काउण्टरहरु थप गरिएको छ।”  अस्पताल परिसरमै करिब आठ वर्षअघि निर्माण सम्पन्न भएको नयाँ भवन अझै निमार्ण व्यवसायीले हस्तान्तरण गरेको छैन। प्रसुती जस्तो संवेदनशील सेवा वर्षौँ पुरानो  नाजुक भवनबाट दिनुपर्ने बाध्यता छ।

    देशभरमै सबैभन्दा धेरै प्रसुती गराउने अस्पतालहरुमध्ये सेती प्रदेशिक अस्पताल पनि एक हो । गत साउनमा सेती अस्पतालमा एकैदिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती गराइएको थियो। माघ, फागुनमा फेरी त्यही अनुपातमा  चाप बढने गर्दछ।  तर उक्त अस्पतालको प्रसुती सेवा चिकित्सक, नर्स र सेवाग्रही  सबैको लागी कठीन छ। सिमित स्रोत साधन र न्युन जनशक्तिका साथै  सिमित वेड संख्या रहेको छ। पुरानो जीर्ण भवनबाट सेवा प्रदान भइरहेको छ।

    “वर्षा याममा भवन भित्रै पानी पस्छ, खुट्टामा बुट लगाएर काम गर्नु पर्छ। तर पनि जे छ, जस्तो अवस्थामा छ त्यसैबाट सेवा दिइरहेका छौँ” व्यवस्थापक जोशीले भने।

    त्यस्तै, सेती प्रादेशिक अस्पतालकी अस्पताल नर्सिङ प्रशासक कमला बिष्टले नर्सहरुमाथी अत्यधिक भार र बेड संख्यामा असन्तुलन रहेको बताईन। उनका अनुसार ५० शैयाको रूपमा स्थापना गरिएको अस्पतालले आफ्नै पहलमा ७५ बेड थप गरी १२५ बेडमा सेवा सञ्चालन गर्दै आएको थियो। तर बिरामीको अत्यधिक चापका कारण अहिले अस्पतालले ३ सय १६ बेडमा सेवा दिन बाध्य भएको छ। यसले व्यवस्थापन र जनशक्ति दुवैमा ठूलो दबाब सिर्जना गरेको छ।

    “वि.सं २०५५ सालमा बनेको अस्पताल सञ्चालन नियमावली  अनुसारको दरबन्दी छ, सरकारी मापदण्ड अनुसार आईसीयुमा एक नर्सले एक वेड (बिरामी) र डायलाइसिसमा एक नर्सले दुई मेसिन हर्ने हो” उनले भनिन, “सेतीमा २० वेडको डायलाईसिस सेवा छ, बिरामीहरुको चाप धेरे छ। तर १३ जनामात्रै कर्मचारी छन, त्यसलाई चार सिफ्टमा चलाउँछौँ।”

    प्रसुती गराउँदा पनि महिलालाई व्यथा लाग्दा देखि सुत्केरी भई सक्दासम्म एक नर्सले एक जना हेर्ने हो, तर सेतीमा र्दुईजना नर्सले मात्रै बिरामी भर्नादेखि व्यथा जाँच र सुत्केरी सम्मको सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताईन।  प्रादेशीक अस्पताल स्तरको स्तरोन्नती गर्न नसक्दा आफूहरुले चाहेर पनि गुणस्तरीय सेवाको सन्तुलन मिलाउन नसकिरहेको उनले दुःख व्यक्त गरिन।

    सुदूरपश्चिम प्रदेशका जोखिमग्रस्त बिरामीहरूका लागि अन्य प्रादेशिक अस्पतालहरुले सञ्चालन गर्न नसकेका सेवाहरु सेतीमा छन्, तर पर्याप्त जनशक्ति छैन । “हामी लामो समय देखि ५० बेडको सुविधामा सञ्चालनमा छौँ” उनले भनिन, “सेतीमा १८ जना स्टाफ नर्स, ४ जना अनमी, २ जना नर्सिङ अधिकृत र एक जना नर्सिङ प्रशासकको मात्रै दरबन्दी छ, बाँकी सबै आकस्मिक सेवा दिने ठाउँमा करारका कर्मचारी मात्रै छन्। रेडियोलोजी र ल्याब बाहेक सबै विभागमा नर्सले सम्हालेको छ।” गुणस्तरिय स्वास्थ्य सेवा सेवाग्राहीको आधारभूत अधिकार भएपनि नितिगत र संरचनागत अभावका कारण परिपुर्ति गर्न नसकिएको उनको भनाई छ। विहान, वेलुकी र रातीका सबै सिफ्ट सिमित जनशक्तिको भरमा सञ्चालन गर्नुपर्ने वाध्यता छ।

    छलफलका क्रममा उठेका समस्यामध्ये केही विषय तत्काल अस्पताल प्रशासनले समाधान गर्न सक्ने प्रकारका रहेका छन् भने केही विषय सम्बन्धित निकायको नीतिगत तहमा पुर्यायाउनुपर्ने निष्कर्ष निकालिएको सन्तोष रावलले बताए। मंगलबार ति युवाहरुको समूह सेती अस्पताल र स्थानीय तहका स्वास्थ्य समस्या तथा सेती प्रादेशिक अस्पतालको सुदृढीकरणको माग लिएर प्रदेशको सामाजिक विकास मन्त्रालयमसम्म पुगेका थिए।

    सामाजिक विकास मन्त्री मेघराज खड्काले आफ्नो मन्त्रालयसंग सम्बन्धित विषयहरु तत्काल सम्बोधन गर्ने र बाकीँ कुराहरुका लागि माथिल्लो निकायसंग पहल गर्ने आश्वसान दिएका छन्। बाँकी संरचनागत विकासका लागि सहरी विकास तथा भवन निमार्ण कार्यालयलाई पनि झकझक्याउने उनिहरुले बताएका छन्।

    १२५ बेडका लागि मात्र स्वीकृत जनशक्तिले हाल ३ सय १६ बेडका बिरामीको उपचार गर्नुपर्दा पर्याप्त चिकित्सक, नर्स र सहयोगी कर्मचारीको अभावमा  सेती अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमा असर परेको अस्पताल प्रशासनले जनाएको छ।सुदूरपश्चिमका नौवटै जिल्लाका आर्थिक रूपमा कमजोर बिरामीहरू उपचारका लागि सेती अस्पतालमा आउने गरेका छन्। व्यापक सेवाको दायरा हुँदाहुँदै पनि अस्पतालको संरचना र स्रोतमा सुधार नआएको भन्दै युवाहरुले सरकारको ध्यानाकर्षण गराउन विभिन्न माग सहित सामाजिक विकास मन्त्री खड्कालाई ज्ञापन पत्र समेत बुझाएका छन्।

    अस्पतालका दीर्घकालीन समस्या समाधानका लागि अब मन्त्रालयस्तरमा पहल गरिने र आवश्यक नीतिगत निर्णयका लागि दबाब दिने तयारी गरिएको उनिहरुले बताएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by