पुनर्वास नगरपालिकाद्वारा कार्यविधि बिनै २५ लाखको औषधी र फर्निचर सामाग्री खरिद
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकाले सार्वजनिक खरिद ऐनले ब्यबस्था गरेको खरिद कार्यविधि पालन नगरी सामाग्री खरिद गरेको पाइएको छ ।
पुनर्वास नगरपालिकाको सूचना अधिकारीबाट प्राप्त विवरण अनुसार चालू आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म २४ लाख ८६ हजार ३ सय ८९ रुपैयाँ ५० पैसा बराबरको सामाग्री ऐंनले ब्यवस्था गरेको कार्यविधि पालन नगरी खरिद गरेको पाइएको हो ।
प्राप्त विवरण अनुसार स्वास्थ्य शाखाले चालू आर्थिक वर्षको पुस मसान्त सम्म ९ लाख ९२ हजार ५५२ रुपैया ५० पैसा बराबरको औषधी रौले केदार मेडिसिन सप्लायर्स कैलालीबाट खरिद गरिएको पाइएको छ । त्यस्तै गरि नगरपालिकाले चालू आर्थिक वर्षको पुस मसान्त सम्म १४ लाख ९३ हजार ८३७ रुपैयाँ फर्निचर खरिदमा खर्चिएको देखिन्छ ।
सार्वजनिक सेवा प्रदायक संघसंस्थाहरुले आवश्यक सामाग्री खरिद गर्दा ऐनले ब्यबस्था गरेको कार्यविधि अनुसार गर्नु पर्ने स्पष्ट ब्यवस्था भए पनि पुनर्वास नगरपालिकाले भने पालन नगरेको पाइएको छ । सार्वजनिक खरिद ऐनको परिच्छेद २ को दफा ९ मा सार्वजनिक निकायले कुनै खरिद गर्नु पर्दा खुल्ला रुपमा बोलपत्र आह्वान गर्नु पर्ने ब्यबस्था गरेको छ । दफा ४० को उपदफा ३ अनुसार सिलबन्दी दरभाउपत्र माग गर्दा राष्ट्रिय वा स्थानीय स्तरको समाचारपत्रमा कम्तिमा १५ दिनको अवधी दिई सुचना प्रकाशन गर्नु पर्ने स्पष्ट ब्यवस्था उल्लेख गरिए पनि पुनर्वास नगरपालिकाबाट प्राप्त विवरणमा भने उल्लेख नभएको पाइएको छ ।
सार्वजनिक खरिद ऐनको परिच्छेद ५ ले ब्यवस्था गरेको खरिद सम्बन्धी ब्यवस्था दफा ४० को उपदफा २ अनुसार सिलबन्दी दरभाउपत्र माग गर्नु अघि खरिद गर्ने मालसामानको स्फेसिफिकेशन , गुणस्तर जस्ता कुराहरुको बिवरण स्पष्ट उल्लेख भएको हुनपर्ने ब्यवस्था भए पनि पुनर्वास नगरपालिकाले भने खरिद प्रक्रिया रीतपुर्वक गरेको पाइएको छैन । त्यसै गरि ऐनको दफा १४ कम अंक कबुल गरेको बोलपत्रदाताबाट खरिद गर्नु पर्ने ब्यवस्था भए पनि संचारकर्मीद्वारा गरिएको माग बमोजिमको नगरपालिकाबाट प्राप्त विवरणमा सो को स्पष्ट उल्लेख देखिदैन ।