
कञ्चनपुरको पुनर्वास घर भएकी कल्पना मगर बेल्जियमको अध्यक्षमा निर्विरोध चयन
ब्रसेल्स । मगर संघ बेल्जियमले छैटौँ अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट स्थायी घर कञ्चनपुरको पुनर्वास नगरपालिका–३, भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगर संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएकी मगर दशकदेखि मगर समुदायको अधिकार, पहिचान र संस्कृति संरक्षणमा जुटिरहेकी छिन् । निर्वाचित भएपछि उनले भनिन्, ‘बेल्जियममा रहेका मगर समुदायलाई अझ संगठित बनाउँदै भाषा, संस्कृति र नयाँ पुस्तासँगको सम्बन्धलाई बलियो बनाउने मेरो प्रमुख लक्ष्य हुनेछ ।’
विदेशमा हुर्किरहेका मगर समुदायका दोस्रो पुस्तालाई चाडपर्व मात्र नभई दैनिक जीवनमै नेपाली भाषा र संस्कारसँग जोड्ने कार्यक्रमहरू अघि बढाउने बताइन् ।
अधिवेशनको विशेष समारोहमा प्रमुख अतिथिको रुपमा बेल्जियमस्थित नेपाली राजदूत सेवा लम्साल थिइन् । उनले मगर संघको निरन्तर सक्रियता र प्रवासी नेपालीबीच एकता कायम गर्नको योगदानप्रति सराहना व्यक्त गरिन् ।
अन्य विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय मगर महासंघका महासचिव तथा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ति मगर, युरोप संयोजक नेत्र मगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, तथा ज्येष्ठ प्रतिनिधि लालप्रसाद पाइजा थिए । साथै, बेल्जियममा क्रियाशील दर्जनौँ संघसंस्थाका प्रतिनिधिको पनि उल्लेखनीय उपस्थिति थियो ।
अधिवेशनबाट संघको उपाध्यक्षमा हिमाल बुढा मगर (रोल्पा) चयन भएका छन् । सन्दर्भ पुन (बागलुङ) र कृष्णकुमारी पुन (गुल्मी) सचिवका रूपमा चयन भएका छन् । दीपक थापा (गुल्मी) कोषाध्यक्षमा र क्षेत्र थापा (बागलुङ) सहकोषाध्यक्षमा निर्वाचित भएका छन् ।
संस्कृतिक विभाग संयोजकमा गोरखाका अमर राना चयन भएका छन् भने लेखा समिति संयोजकको जिम्मेवारी म्याग्दीका मोहन रोकाले पाएका छन् ।
कार्यसमितिमा सुझित बुढा मगर र सतमान पुन (रुकुम), श्याम बुढा मगर (रोल्पा), पुरन पुन (म्याग्दी), मिलन पुन (दाङ) र दिलमाया मगर (सोलुखुम्बु) सदस्यका रूपमा चयन भएका छन् ।
नयाँ कार्यसमितिमा विभिन्न जिल्लाका प्रतिनिधिको समावेशिता देखिन्छ, जसले मगर संघ बेल्जियमलाई अझ सशक्त, समावेशी र सांस्कृतिक रूपमा ऊर्जाशील संस्था बनाउने अपेक्षा गरिएको छ ।
– अनलाईन खबरबाट साभार















