
पुनर्वासको कान्छीबजारमा मोटरसाइकलको ठक्करबाट एकजना घाइते , मोटरसाईकल चालक फरार
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–२, अरनिको बस्ती निवासी रत्न तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्।
धनगढी–बेलौरी हुलाकी सडकखण्डअन्तर्गत कान्छीबजार क्षेत्रमा भएको दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ।
प्राप्त विवरणअनुसार सुदूरपश्चिम प्रदेश ०१–०११ प ५५३६ नम्बरको मोटरसाइकलले तामाङलाई ठक्कर दिएको थियो। दुर्घटनालगत्तै चालक घटनास्थलबाट फरार भएका कारण उनको खोजी कार्य तीव्र पारिएको छ।
दुर्घटनामा घाइते भएका तामाङको आईबीआरडी बजारस्थित पुनर्वास क्लिनिकमा उपचार भइरहेको छ। घाइतेका आफन्तले फरार मोटरसाइकल चालकविरुद्ध इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीअन्तर्गत रहेको अस्थायी प्रहरी पोस्ट आईबीआरडीमा किटानी जाहेरी दिएका छन्।
अस्थायी प्रहरी पोस्ट आईबीआरडीका इन्चार्ज नेगीका अनुसार जाहेरी दर्तापछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। मोटरसाइकल धनी तथा चालकको पहिचान खुलाउन यातायात व्यवस्था कार्यालय कैलालीसँग समन्वयका लागि पत्राचारसमेत गरिसकिएको उनले बताए।
प्रहरीले फरार चालकको खोजी तथा घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै उक्त मोटरसाइकल चालकको पहिचान, ठेगाना वा अवस्थाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सूचना दिन वा ९७०१६५०८८८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरिएको छ।
दुर्घटनापछि चालक फरार भएकाले घटनालाई ‘हिट एन्ड रन’ प्रकृतिको मान्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।















