
फेसबुक विज्ञापनमार्फत ‘अनलाइन जागिर’ ठगी बढ्दो, नेपाल प्रहरीको सचेत रहन आग्रह
धनगढी- सामाजिक सञ्जाल फेसबुकमा ‘अनलाइन जागिर’ को प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अनलाइनबाट हुने ठगीबाट बच्न सार्वजनिक सूचना नै प्रकाशित गरेको छ। प्रदेश प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुककार्फत सूचना सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार फेसबुकका Sponsored Ads प्रयोग गर्दै विभिन्न ई–कमर्स प्लेटफर्महरूको नाम दुरुपयोग गरी घरमै बसेर सजिलै कमाइ हुने भन्दै प्रयोगकर्तालाई बारम्बार रकम लगानी गर्न लगाइ ठगी गर्ने घटना बढिरहेका छन्। यस्ता विज्ञापनमार्फत सुरुमा सानो आम्दानी देखाइ विश्वास दिलाइने र त्यसपछि थप रकम लगानी गर्न दबाब दिइने गरिएको बताइएको छ।
नेपाल प्रहरीले यस्ता प्रलोभनमा नपरी कुनै पनि अपरिचित अनलाइन काम वा लगानीसम्बन्धी प्रस्ताव स्वीकार नगर्न र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा जानकारी दिन आग्रह गरेको छ।















