पुनर्वासमा सेवासुविधा हटाईएको भन्दै महिला स्वयंसेविकाद्वारा आक्रोश, नगर प्रमुखलाई ज्ञापनपत्र
पुनर्वास – कंचनपुरको पुनर्वासका महिला स्वयंसेविकाहरु आक्रोशित बन्दै नगरपालिका पुगेका छन् ।
यस अघि नगरपालिकाले दिदै आएको सेवा सुविधालाई कटौती गरेको भन्दै आक्रोशित महिला स्वयंसेविकाहरुले सेवा सुविधालाई निरन्तरता दिनुपर्ने माग राख्दै बुधबार नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा महिला स्वयंसेविकाहरुको नाममा अक्षयकोष स्थापना हुनुपर्ने,मेडिक मोबाईल सुविधा यथावत हुनुपर्ने,कामको समिक्षा बैठक पुरानै स्थितिमा हुनुपर्ने,पोषाक भत्ता र सुत्केरीलाई पोषण वितरणका कुरालाई ध्यानाकर्षण गराएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तोयप्रसाद शर्माले महिला स्वयंसेविकाका सेवा सुविधाका विषयमा नियमामा रहेर आफुले कुनै कमी नगर्ने बताए ।
यस अघि पनि आफुले स्वयंसेविकाको योगदानको कदर हुने किसिमले सुविधा गर्न स्वास्थ्य शाखालाई समेत अनुरोध गरेको उनको भनाई थियो ।
त्यस्तै स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले यस अघि दिएका सुविधा पनि आफुले कार्यपालिकाबाट स्विकृत गराएको जानकारी दिए।
उनले पहिलेकै कार्यक्रम अन्तर्गत रहेर यस आर्थिक वर्षमा पनि सो बजेट राखेको थियौ । तर महालेखाले अनुदानको रकम कसरी बाड्नु भो भनेर बेरुजी निकालेपछि यस वर्षको बजेट कटौती गर्न बाध्य भएको बताए ।
नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा महिला स्वयंसेविकाहरुको बाक्लो सहभागिता रहेको थियो ।