
पुनर्वासमा रहेको श्रीनिवास दिव्यधाममा धनगढीका व्यवसायी राठीद्वारा ११ लाख ५ हजार सहयोग
पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका-८, क- गाउँमा अवस्थित श्रीनिवास दिव्यधाम मन्दिरको आयोजनामा हुने धार्मिक कार्यक्रमका लागि मनकारी एकै व्यक्तिबाट ११ लाख ५ हजार सहयोग प्राप्त भएको छ ।
श्रीनिवास दिव्यधाम मन्दिरको आयोजनामा हुन गइरहेको चतुर्वेद पारायण एवं चतुष्कुण्डात्मक महायज्ञ सहित अष्टोत्तरशत श्रीमद्भागवत सम्पुट पारायण महा अनुष्ठान कार्यक्रम सफलताको लागि धनगढी निवासी राठी इन्टरप्राइजेजका सञ्चालक धर्मप्रेमी पुरुषोत्तम राठी र महालक्ष्मी राठिले
नगद दान गर्नुभएको हो ।
श्रीनिवास दिव्यधामका संरक्षक अनन्त विभूषित श्री गोविन्द स्वामीज्युको संकल्पमा यहि माघ २३ गतेदेखि फागुन १६ गते सम्म दिव्यधाम स्थलमै सुदूरपश्चिमकै ठूलो धार्मिक कार्यक्रमका रूपमा आयोजना गरिएको दिव्यधामका सदस्य गोविन्द अवस्थीले जानकारी दिनुभयो।
हिन्दू धर्मको संरक्षण र पुनर्वासलाई धार्मिक क्षेत्रका रूपमा प्रवर्धन गर्ने उद्देश्यले पनि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।
नेपालकै ठूलो धार्मिक महत्व बोकेको श्रीनिवास दिव्यधाम राज्यको ठूला योजनामा नपर्दा निर्माण कार्य अलपत्र परेको छ । यस क्षेत्रको ठूलो सम्भावना बोकेको धार्मिक योजनालाई पूर्ण गर्न सके पुनर्वासको धार्मिक पर्यटकीय क्षेत्रमा ठूलो टेवा पुग्ने धर्मप्रेमीहरूको भनाइ छ।















