
मेडिकल विश्वविद्यालय स्थापनाका लागी चर्किँदै आन्दोलन
धनगढी । धनगढी गेटामा मेडिकल विश्वविद्यालय स्थापनाका लागी आन्दोलन चर्किँदै गएको छ । अर्थमन्त्री प्रकाशसरण महतले बजेट भाषणमा एक सय बेडको अस्पताल सुरु गरिने उल्लेख गरेपछि यहाँका नागरिकहरू त्यसको विरोधमा आन्दोलित छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदबाट निर्णय नै गराएर दशरथ चन्द विज्ञान विश्वविद्यालय बनाउने बताए पनि निर्णय विपरीत बजेट आएको भन्दै सघर्ष समिति लगायत विभिन्न क्षेत्रबाट आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्। दशरथ चन्द गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ सघर्ष समिति, नेकपा एमाले, विद्यार्थी सङ्गठनहरू लगायतले अहिले विश्व विद्यालयका लागी सडक सघर्ष गरिरहेका छन् । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले यही जेठ २८ गते सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा समेत गरेको छ ।
गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन प्रदेशभरी आम हड्तालको घोषणा गरेको हो । सङ्घर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै शालीन र अनुशासित ढङ्गले विरोधका कार्यक्रम गर्दा पनि सुदूरपश्चिमीले जनताको मागप्रति सरकार उदासीन देखिएकाले बाध्य भएर आम हड्ताल गर्नुपरेको उल्लेख गरिएको छ । सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सम्पूर्ण राजनीतिक दलहरू र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा बन्दको समयावधिमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, ८८ वटै पालिकामा रहेका सम्पूर्ण कार्यालयहरू, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयहरू लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिदिन अनुरोध गरिएको छ । आम हड्ताल गर्दा पनि माग सुनुवाइ नभए थप सङ्घर्षका कार्यक्रम घोषणा गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सङ्घर्ष समितिले यस अघि गेटामा जनस्तरबाट शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको होर्डिङ बोर्ड राखिएको छ ।
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले बिहीबार मूल गेटमा होर्डिङ बोर्ड राखेको हो । भने कैलालीको गेटामा मङ्गलवार साँझ ३० मिनेट यातायात बन्द गरिसकेको छ । यस्तै सङ्घर्ष समितिले कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रतिनिधि सभाका सदस्यहरूलाई एसएमएस पठाउन थालिएको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा विजयी सांसदहरूलाई दबाब दिन एसएमएस पठाउन थालिएको हो। उनीहरूले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि भूमिका खोजेको, यो विषयमा प्रतिनिधि सभा सदस्यले बोल्नुपर्ने लगायतका विषय उल्लेख गर्दै एसएमएस पठाउने गरेका छन् ।
काठमाडौँमा विरोध प्रदर्शन
गेटामा चिकित्सा विश्वविद्यालय कायम गर्न माग गर्दै काठमाडौँमा पनि विरोध प्रदर्शन गरिएको छ।शुक्रवार माइतीघरमा नेकपा एमालेको सुदूरपश्चिम–काठमाडौँ सम्पर्क कमिटीले विरोध गरेको हो।
सो विरोध कार्यक्रममा सुदूरपश्चिमका एमाले नेता तथा अनेरास्ववियुका नेताको सहभागिता रहेको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरीले बताए। उनका अनुसार सरकारलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको हो। एमालेले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ। गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिन बजेट आए लगत्तै आन्दोलन भइरहेको छ।