
जेठ २८ गते सुदूरपश्चिम प्रदेशमा आम हड्तालको घोषणा
धनगढी । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले जेठ २८ गते सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा गरेको छ । संघर्ष समितिले गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिने आम हड्तालको घोषणा गरेको हो ।
संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै शालिन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दापनि सुदूरपश्चिमेली जनताको मागप्रति सरकार उदासीन देखिकाले बाध्य भएर आम हड्ताल गर्नुपरेको उल्लेख गरिएको छ । संघर्ष समितिका संयोजक लोकराज पाण्डेयद्धारा जारी विज्ञप्तीमा आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, नागरिक समाज, सम्पूण राजनीतिक दलहरु र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा बन्दको समयावधिमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, ८८ वटै पालिकामा रहेका सम्पूर्ण कार्यालयहरु, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिदिन अनुरोध गरिएको छ । आम हड्ताल गर्दा पनि माग सुनुवाई नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा नेपाल सरकारले यही २०८० साल जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा कैलाली जिल्लाको गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति घोर विरोध रहदै आएको उल्लेख गरिएको छ ।
‘२०७९ साल माघ २९ को मन्त्रि परिषद्को निर्णय र सम्माननीय राष्ट्रपति ज्यूले २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको आ।व। २०८०/८१ को नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएको हो । तत्पश्चात् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा तयार गरिसकेको कुरा आम जनसमुदायलाई जानकारी गराउन चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ ‘मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीति कर्मीहरुको गठजोडले गर्दा यो कामलाई विफल पार्ने प्रयास भएको छ ।’