
पुनर्वासका मेयर शर्माद्वारा प्रदेशका चालु योजना बारे सुदुरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री देउवालाई ध्यानाकर्षण
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयमा भेटघाटका क्रममा पुगेका सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवालाई प्रदेशका चालु योजना बारे ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले आफ्नो कार्यकक्षमा भलाकुसारी गर्नुहुँदै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री देउवालाई नगर भित्र चालु अवस्थामा रहेका र सुचारु ह्ुन नसकेका सडक योजनाहरुको विषयमा अवगतसँगै ध्यानाकर्षण गराउनुभएको हो ।
मेयर शर्माले साविक पराशन गाविसलाई जोड्ने लोकतान्त्रिक मार्ग प्रदेश र संघिय सरकारको पहलमा निर्माणका लागि बारम्बार ठेक्का आह्वान हुँदा पनि ठेक्का सदर हुन नसक्दा वर्षौ देखि सास्ती खेप्नु परेको विषय र बिचफाँटा जिरो पोईन्टबाट कोटिहोम सम्म जोड्ने कालोपत्रे सडक निर्माण कार्यलाई जतिसक्दो चाडै सम्पन्न गराउन पहल गरिदिनुपर्ने विषय सहित मन्त्री देउवालाई स्मरण गराउनुभएको थियो ।
मेयर शर्माको कुरालाई आत्मसाथ गर्दै मन्त्री देउवाले यी विषयमा तत्काल चासो लिई प्राथमिकताका साथ कामलाई अगाडी बढाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।
मन्त्री देउवा कञ्चनपुर जिल्ला स्तरिय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटनका लागि बेलौरी नगरपालिकाको गोकलपुर पुग्नुभएको थियो ।