
कञ्चनपुरको पुनर्वास-५ कार्यालयद्वारा सडक किनारमा पशुचौपाया नबाँध्न र साधनहरू नराख्न अनुरोध
पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका ५— मा वडा अध्यक्षले वडा भित्रका भित्री सडक र हुलाकी सडक किनारमा पशुचौपाया नबाध्न,ट्रेक्टर, ट्र्लि, डल्लब नराख्न वडाबासीहरूलाई आग्रह गरेका छन ।
वडा अध्यक्ष पदम बहादुर रोकायाले बिहिबार वडा कार्यालयको तर्फबाट सूचना जारी गर्दै मुख्य तथा सहायक सडक छेउमा पशुचौपाया बाँध्दा सवारी आवागमनमा अवरोध हुने, पैदल यात्रीलाई समस्या हुने र दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले यस्तो कार्य नगर्न अनुरोध गरेका हुन् ।

“सडकको किनारामा चौपाया बाँधिँदा ट्राफिक जाम तथा दुर्घटनाको सम्भावना बढेको गुनासो बढ्दो छ। यसलाई मध्यनजर गर्दै वडाले सूचना जारी गरेको हो । आगामी दिनमा यस्ता कार्य गरिएको भेटिएमा आवश्यक कारबाही गरिने र कुनै दुर्घटना हुन गए क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने ।” वडा अध्यक्ष रोकायाको भनाइ छ ।
सूचनालाई बेवास्ता गरी पुनः यस्तो गतिविधि दोहोरिएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिने अध्यक्ष रोकायाले जानकारी दिए ।
वडाले सूचना जारी गर्नु केही दिनअघि पुनर्वास ५ निवासी समाजसेवी दीपिका पौडेलले आफ्नो फेसबुक पोस्ट मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी थिईन। उनको सुझावलाई सकारात्मक रूपमा लिँदै वडा कार्यालयले सूचना जारी गरेको थियो ।

वडाको सूचनापछि उनले सामाजिक सञ्जाल फेसबुकमा फेरि लेखिन् “समस्याको सुनवाई गरिएको प्रति खुसी छु । अन्य वडाहरूले पनि विशेष महत्वका साथ गम्भीर रुपमा निर्णय गरोस् । यो विषय सूचनामै मात्रै सीमित नराखी कार्यान्वयन होस् । पुनर्वास-५ वडा कार्यालयलाई विशेष धन्यवाद।”
















