
पुनर्वास नगरपालिका-८ का १८ जना महिलाहरुलाई एक महिने झोला बनाउने तालिम
कंचनपुरको पुनर्वास नगरपालिका-८, क-गाउँमा विपन्न वर्गका महिलाहरुलाई झोला बनाउने तालिम दिईएको छ ।
नगरपालिकाको उद्योग तथा उद्यम विकास शाखाको आयोजनामा माघ ६ गतेबाट सञ्चालन भएको झोला बनाउने तालिम शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विपन्न वर्गका १८ जना महिलाहरुलाई एक महिने झोला बनाउने तालिम आयोजना गरेको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख तोयप्रसाद शर्माले सिकेर मात्रै हुँदैन यस्लाई व्यवहारिकतामा ल्याउन सके नगरको उपलब्धि हुने बताउनुभयो।
प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऎरीले हामी सबैलाई झोला अत्यावश्यक पर्छ । यसलाई उत्पादन गरी बजार सम्म ल्याउन सके मात्रै तालिमको उपलब्धि हुने, यस्ता व्यवसायलाई तिनै तहका सरकारबाट समेत राहतका कार्यक्रम आउने जानकारी दिनुभयो ।
त्यसैगरी प्रशासन अधिकृत धौलराम सार्कीले सिप खेर कहिल्यै जादैन , सिपको सहि प्रयोग गरेर व्यवसायिक रुपमा लैजान अनुरोध गर्नुभएको थियो ।
कार्यक्रम सहभागी प्रशिक्षार्थी लक्ष्मी रानाले एक महिनाको तालिम भएपनि धेरै कुराहरु सिकेको र आगामी दिनहरुमा अझै यस्ता कार्यक्रमहरु पाउछौ भन्ने विश्वास राखेको बताईन । त्यस्तै अर्की प्रशिक्षार्थी गीता रानाले पहिलो पटक तालिममा सहभागी हुन पाएको जानकारी दिदै दुई तिन महिनाको तालिमभए अझै राम्रोहुने सुनाईन ।
देशमा बढ्दो बेरोजगारीलाइ न्यूनीकरण गर्न नगरपालिकाले नगर भित्रका महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले सिपमुलक कार्यक्रमहरु सबै वडाहरुमा सञ्चालन गरेको छ ।