
आम्दानी राम्रो देखेपछि केरा खेती तर्फ आकर्षित हुँदै पुनर्वासका कृषक
पुनर्वास- कंचनपुरमा केरा खेती तर्फ कृषकको आकर्षण बढ्दो छ । अन्नको भण्डारको रुपमा पहिचान बनाएको कंचनपुरमा पछिल्लो समय केरा खेतीमा समेत राम्रो सम्भावना देखिएको छ ।
जिल्लाका कृषकहरूले लगाएको केरा फस्टाएर आत्मनिर्भर बन्न थालेपछि केरा खेतीमा प्रचुर सम्भावना देखिएको हो ।
पुनर्वास नगरपालिका-१, अंशुवर्माबस्तीका व्यवसायीक कृषकका रुपमा परिचित विष्णुराज घिमिरे पुनर्वासका शिक्षक हुन् । उनी शिक्षक पेशासंगै फुर्सदिलो समय कृषिमा व्यतीत गर्दै आएका छन् । कम मिहिनेतमा वर्षौ सम्म राम्रो आम्दानी दिने भएपछि उनले साढे तिन बिघा जमिन भाडामा लिई केरा खेती सुरु गरेका छन् । सुरुको वर्षमा भाडामा लिएको दुई बिघा जमिनमा केरा खेती सुरु गरेका घिमिरेले मनग्य आम्दानी गर्न सकिने देखेपछि थप डेढ बिघा जमिन भाडामा लिई केरा खेती सुरु गरे ।
दुई विघामा लगाएको केरा बिक्री भईरहेको छ । तिज नजिकै सुरुमा प्रति दर्जन ५० का दरले बारीबाटै केरा बिक्री हुने गरेपनि अहिले भने प्रति दर्जन ३० का दरले बिक्री गर्नुपरेको उनले गुनासो गरे ।
“एउटा केराको बोटमा १० देखि २० दर्जन सम्म फल्ने गरेको छ ।” उनले भने, “हावा हुरी आउँदा केरा ढल्ने निकै जोखिम हुन्छ । त्यसबाट बचाउन सके खर्च घटाएर ४/५ लाख बिघामा बचाउन सकिन्छ ।”
त्यस्तै पुनर्वास नगरपालिका-४ का दान सिंह ठगुन्नाले पनि २०७६ सालदेखि केरा खेती सुरुवात गरेका छन् । सुरुमा ४ बिघा जमिन भाडामा लिई केरा खेती सुरु गरेका ठगुन्नाले बिघामा खर्च घटाएर ५ लाख जति आम्दानी गरेपछि थप केरा खेती तर्फ आकर्षित देखिएका हुन् ।
सरकारले केरा खेतीमा राहतका कार्यक्रम अन्तर्गत मलखाद र सिचाईको व्यवस्था ल्याईदिए आफु जस्ता कृषकहरु सक्षम मात्रै हैन सुदुरपश्चिम नै केरामा आत्म निर्भर हुने उनको भनाई छ ।
केरा खेतीको ३ वर्ष भएपनि हालसम्म एकपटक प्रदेश सरकारबाट बिरुवामा अनुदान पाएको र त्यसपछि हालसम्म कुनैपनि सरकारी निकायबाट सहायता नपाएको पिडा पोखे ।
“हामी जस्ता कृषकको सरकारले मुल्यांकन गर्दैन, झोले कृषकको मात्रै संरक्षण हुन्छ ।” उनले भने, “केरा खेतीले आफुलाई मात्रै फाईदा छैनौ, २ जनालाई वर्षभरी र ४/५ जनालाई ज्यालादारीमा रोजगारी सिर्जना समेत भएको छ ।”
यसैगरी कंचनपुर जिल्लामा करिब ५ सय हेक्टरको अनुपातमा केरा खेती गर्दै आएको कृषि ज्ञान केन्द्रमा तथ्यांक छ । ज्ञान केन्द्रका प्रमुख दिलबहादुर बिष्टले केरा खेतीमा आकर्षण बढ्दो मात्रै हैन सुदुरपश्चिममै कंचनपुर जिल्ला केरामा आत्मनिर्भर समेत बनेको बताए ।
उनले कंचनपुरमा केहि समययता भारतबाट केरा आयात नभएको र पुनर्वास,बेलौरी,भिनपा-९,१०, वेदकोट र कृष्णपुरमा केरा खेती अधिक मात्रामा गरिएको जानकारी दिए ।
त्यस्तै कृषि सेवा केन्द्र पुनर्वासका प्रमुख कर्णबहादुर शाहीका अनुसार पुनर्वासमा पनि ३२ विघामा व्यवसायिक केरा खेती हुँदै आएको बताएका छन् ।
नगरपालिकाबाट अघिल्लो वर्ष ५० प्रतिशत अनुदानमा केराको बिउँ वितरण गरेको र नगरपालिका भरीमै वडा नम्बर ८ मा केरा खेती बढिरहेको उनको भनाई छ ।
नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले कृषि क्षेत्रको स्त्तरोन्नतीका लागि स्विट नेपालसंग साझेदारीमा कार्यक्रम गर्दै थप प्रभावकारी बनाउन पर्याप्त कार्यक्रम रहेको बताए ।
बिधुतको भोल्टेजले बिधुतीय सिचाईमा समस्या छ , उक्त समस्या हटे पुनर्वासमा धान,गहुँ, मकै,उखु, तरकारी र केरा खेती अझै बढ्ने सम्भावना छ ।उनले भने,