पुनर्वासमा छाडा चौपायाले अन्नबाली नष्ट गर्दा किसान चिन्तित
पुनर्वास(कञ्चनपुर) ,८ असोज । वर्षौँदेखि जङ्गली जनावरबाट सास्ती खेप्दै आइरहेको कञ्चनपुरको पुर्नवास नगरपालिकाका स्थानीय किसान फेरि छाडा चौपायाको सास्ती खेप्न बाध्य भएका छन् ।
पुनर्वास नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय किसानहरूले छाडा चौपायाकै कारण वर्षौँदेखि सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।वर्षभरि खानको लागि फलाएको अन्न छाडा चौपायैले सकाप गर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् । खेतमा लगाएको धान तथा मकैवाली लगायतका अन्नवाली छाडा पशु चौपायाले खाएर नष्ट गर्न थालेपछि यहाँका किसानहरू अब के खाने भन्ने चिन्तामा छन् ।
सामुदायिक वनसँग जोडिएका यी वडाहरूमा छाडा चौपायहरुले अन्नवाली सकाप गर्न थाले पनि सम्बन्धित निकाय मौन बसेको उनीहरूको आरोप छ । पुनर्वास नगरपालिका ११ अमरबस्तीका मान बहादुर थापाले सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि अझै सम्म पनि कुनै सुनुवाइ हुन नसकेको दुखेसो पोखे ।
‘धानवाली मात्रै होइन यो भन्दा अघिको गहुँवाली पनि छाडा चौपायैले नोक्सानी गरेकै हो । यसपालि पनि धान वाली छाडा चौपायैले सकाप गरिसक्यो,’ उनले भने, ‘हामीले बारम्बार नगरपालिका वडा कार्यालयलाई ध्यानाकर्षण गराउँदै आइरहेका छौँ । तर पनि किसानहरूको समस्यामा उहाँहरूले कुनै सुनुवाइ गर्न सकेनन् ।उनले सामुदायिक वनलाई तारवार गर्न सकिए केही हद सम्म किसानलाई राहत हुने बताए ।
अर्का स्थानीय किसान चन्द्रमाया कामिले रातीको समयमा जागराम बस्नुपर्ने बाध्यता आएको बताइन् । यस अघि स्थानीय सरकारले पीडितको डाटा सङ्कलन गरे पनि राहत पाउन नसकेको उनले बताइन् ।
‘नगरपालिकाले गहुँको बेला पनि पीडितहरूको डाटा सङ्कलन गरेर लगेको थियो । अहिले सम्म कुनै राहत पाएका छैनौ । चुनावका बेला नेताहरू भोट दिनुस् भनेर घरघरमा आउँछन् । अहिले जितिसकेपछि मुख समेत देखाउँदैनन्,’ उनले भनिन् ।
छाडा चौपायाकै कारण कतिपय यहाँका किसान जग्गा बाझै राख्न बाध्य छन् । वडा नम्बर ११ कै स्थानीय उत्तम महर्जनले छाडाचौपायले बर्सेनि लगाएको बाली नष्ट पार्दै आएपछि आफ्नो जग्गा बाझै राख्नुपरेको उनी बताउँछन् । वर्षभरिका लागि खान पुग्ने खेत एकै रातमा छाडा चौपायाले सखाप पार्न थालेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा उनीहरू छन् ।
पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले भने छाडा पशु चौपाया रोकथामका लागि तार जाली लगाउन १० लाख रकम वडाबाट छुट्टाइएको बताए । उनले आगामी पुस मसान्तसम्म तार जाली जडान गरिने योजना रहेको बताए । यता नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माले छाडा चौपायाबाट पीडित किसानहरूको क्षति विवरण सहित निवेदन आएमा राहतका लागि पहल गरिने बताए । –पश्चिम टुडेबाट साभार