
कञ्चनपुरमा विवाहको दुई सातामै एक नवविवाहिता मृत अवस्थामा फेला
धनगढी- कञ्चनपुरमा विवाह भएको दुई सातामै एक नवविवाहिता आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी २२ वर्षीया विन्दु धामीको शंकास्पद अवस्थामा मृत्यु भएको हो।
मृतककी हजुरआमा तारा धामीले विवाहको खुसी मनाउन नपाउँदै नातिनीको शंकास्पद मृत्यु भएको बताइन्। उनका अनुसार परिवारले परम्पराअनुसार धुमधामका साथ विवाह गरिदिएको थियो। उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरिन्।
मृतकका हजुरबुबा प्रेमसिंह धामीले घटनालाई रहस्यमयी बताएका छन्। उनले नातिनीको योनीमा रगत देखिएको भन्दै घटना शंकास्पद रहेको बताए र विवाहसमेत झुक्याएर गरिएको हुनसक्ने आशंका व्यक्त गरे।
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतका अनुसार घटनाबारे अनुसन्धान जारी छ। शवको पोस्टमार्टम भइसकेको र यसको रिपोर्ट आइतबारसम्म आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।















