
डोटीमा चाडपर्व लक्षित सडक मर्मत तीव्र
धनगढी-डोटीको बोगटान फुड्सिल गाउँपालिका–४, सात्फरीमा वर्षायामका कारण क्षति पुगेका सडक तथा बाटोको मर्मत र सरसफाइ कार्य तीव्र पारिएको छ।
घाट्लाया–कोलाखान–सात्फरी सडकखण्डमा मर्मत कार्य सुरु भएसँगै आज साँझसम्म मिलन चोकसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
वडा सदस्य रतन कामीका अनुसार सडकमा रहेका अवरोध हटाउने, बिग्रिएका स्थान मर्मत गर्ने तथा सरसफाइ गर्ने काम भइरहेको छ। मर्मत कार्य पूरा भएपछि मिलन चोकसम्म यातायात सञ्चालन गर्न सकिने उनले बताए।
दशैं तथा तिहार नजिकिँदै जाँदा स्वदेश तथा विदेशबाट गाउँ फर्किने नागरिकको आवतजावत सहज बनाउन सडक मर्मतलाई प्राथमिकता दिइएको वडा अध्यक्ष दीप बमले बताए। वर्षायाममा सडकमा पुगेको क्षतिका कारण स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको थियो।
अध्यक्ष बमका अनुसार वडा नम्बर ४ का अन्य टोल तथा बस्तीमा समेत सडक र बाटोको मर्मत तथा सरसफाइ सुरु गरिएको छ। चाडपर्वको समयमा नागरिकलाई सहज आवतजावतको व्यवस्था मिलाउने उद्देश्यले वडाभित्रका सडकलाई सञ्चालनयोग्य बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए।
चाडपर्वमा गाउँ फर्किने नागरिकको चाप बढ्ने भएकाले सडक मर्मतपछि आवतजावत सहज हुने अनुमान गरिएको छ।















