
कञ्चनपुरको महाकालीमा महिलाको मृत्यु, लास अस्पतालमै
भीमदत्त नगरपालिका–१० सुकासालकी ३३ वर्षीया संगीता बडूको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। भदौ ५ गते सर्पले हातमा टोकेपछि बडूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।
आकस्मिक कक्षमा भर्ना गरिएकी उनलाई पछि सघन उपचार कक्ष हुँदै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचार सुरु भएको २१ दिनपछि उनको मृत्यु भएको हो।
मृतकका परिवारले भने अस्पतालको लापरबाहीका कारण संगीताको मृत्यु भएको आरोप लगाएका छन्। मृतककी आमा मञ्जुदेवी बडूले आकस्मिक कक्षमा ड्युटीमा रहेका मेडिकल अधिकृत सन्तोषी चौधरीको टोलीले उपचारमा लापरबाही गरेको आरोप लगाइन्।
उनका अनुसार उपचारमा ढिलाइ गरिएको, बिरामीको अवस्था गम्भीर भएपछि मात्रै आवश्यक उपचार सुरु गरिएको, बिरामीका आफन्तलाई आवश्यक सूचना तथा परामर्श नदिइएको र समयमै अन्यत्र रेफर गर्नसमेत आनाकानी गरिएको थियो।
चिकित्सकको लापरबाहीकै कारण छोरीको मृत्यु भएको दाबी गर्दै मञ्जुदेवीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन्। जसकारण आजसम्म शव उठाइएको छैन।
पीडित पक्षसँग भएको छलफलमा अस्पताल व्यवस्थापन समितिका सदस्य प्रशान्त भट्टले उपचारका क्रममा बिरामीको मृत्यु हुनु दुःखद घटना भएको बताए। उनले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषी देखिए कारबाहीका लागि आवश्यक पहल गर्ने बताए।
यता, मेडिकल अधिकृत सन्तोष चौधरीले भने आफूले तोकिएको विधिअनुसार आफ्नो कर्तव्य निर्वाह गरेको दाबी गरेका छन्।















