
बेलौरीमा नगरपालिकाकै कमजोरीले दुई वर्षदेखी कवाड संकलन ठेक्काको भएन सम्झौता
नगरमा आर्थिक वर्ष २०७९/८० मा कवाड संकलनका लागि ४ लाख ७५ हजारको आधार मूल्यमा ठेक्का आव्हान गरिएको थियो। बढाबढ प्रक्रियामा ठेक्का करिब १७ लाखमा सम्झौता भएको थियो। तर आर्थिक वर्ष २०८०/८१ मा १८ लाखमा ठेक्का आव्हान गरिए पनि कुनै निवेदन प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिए। त्यसयता चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का नै आव्हान गरिएको छैन।
नगरप्रमुख पोतिलाल चौधरीले कवाड संकलनको ठेक्का आव्हानका विषयमा आवश्यक छलफल भइरहेको र व्यवस्थापन सुधारका लागि ठोस योजना ल्याइने बताए। कवाड संकलन व्यवस्थापनमा नगरपालिकाबाट कमजोरी भएको छ।” नगरप्रमुख चौधरीले भने “नगरपालिकाले गतवर्षको ठेक्का रकमभन्दा १० प्रतिशत बढाएर सूचना प्रकाशित गर्नुपर्ने नियमअनुसार सूचना प्रकाशन नगरेको र यसले आर्थिक व्यवस्थापनमा कमजोरी देखिएको छ।” नगरप्रमुख चौधरीले आगामी दिनमा यस विषयमा विशेष ध्यान दिई ठेक्का प्रक्रिया पुनः व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे।
कवाडको ठेक्का सम्झौता नहुँदा नगरपालिकामा करिब १७–१८ लाख राजस्व संकलनमा कमि आएको छ। ठेक्का सम्झौता नभएका कारण केही व्यक्तिहरूले कर नतिरी कवाड संकलन गरिरहेका छन्। यसले नगरपालिकालाई राजस्व घाटा पुर्याएको छ, भने स्थानियहरूले आर्थिक चलखेलको गन्ध आएको भन्दै चासो व्यक्त गरेका छन्।
कवाड संकलनका सामग्रीमा प्लास्टिकका बोतल, बियर र वाइनका बोतल, फलामका वस्तुहरू, कागज खालि सिसि लगायतका सामग्री पर्छन्।स्थानियहरूले नगरपालिकालाई कवाड व्यवस्थापन प्रभावकारी बनाउन तत्काल ठोस कदम चाल्न र आर्थिक पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।