
पुनर्वासको चन्द्रवाल आधारभुत स्कुलका प्रधानाध्यापक पण्डित सेवानिवृत्त
कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित श्री चन्द्रवाल आधारभूत विद्यालय का प्रधानाध्यापक कृष्णहरि पण्डित ३७ वर्षभन्दा लामो शैक्षिक सेवा पूरा गरी शुक्रबारदेखि औपचारिक रूपमा सेवानिवृत्त हुनुभएको छ।
विद्यालय स्थापनाकालदेखि नै शिक्षण पेसामा आबद्ध रहनुभएका पण्डितले वि.सं. २०४५ माघ १८ गतेबाट सेवा सुरु गर्नुभएको थियो। करिब तीन दशकभन्दा बढी समय विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले २०८३ जेठ १६ गते अनिवार्य अवकाश प्राप्त गर्नुभएको हो।
सेवानिवृत्तिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पण्डितले आफ्नो जीवनका महत्वपूर्ण वर्षहरू विद्यालय, विद्यार्थी र समाजको सेवामा बिताउन पाएकोमा सन्तोष व्यक्त गर्नुभयो। उहाँले सफल सेवायात्राका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, विद्यार्थी, सहकर्मी शिक्षक–कर्मचारी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।
“सबैको विश्वास, साथ र सहयोगकै कारण मैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न सकेँ,” उहाँले भन्नुभयो।
उहाँले सेवाकालका क्रममा आफूबाट कुनै त्रुटि वा कमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्दै विद्यालयको विकास र उपलब्धिलाई निरन्तरता दिन सबैलाई अनुरोध गर्नुभयो।
सेवानिवृत्तिपछि पनि विद्यालयप्रतिको आफ्नो सम्बन्ध र दायित्व कायम रहने उल्लेख गर्दै पण्डितले आवश्यक परेको जुनसुकै बेला विद्यालयलाई आफ्नो अनुभव र सहयोग उपलब्ध गराउन तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।















