
पुनर्वासमा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणबारे अभिमुखीकरण सम्पन्न
पुनर्वास-कञ्चनपुरको पुनर्वासमा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले जनप्रतिनिधि, पत्रकार, प्रहरी तथा विभिन्न सरोकारवालाहरूका बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटी तथा स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा बुधबार पुनर्वास नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका टीबी तथा एचआईभी फोकल पर्सन नरेन्द्रसिंह रावलले एचआईभी संक्रमित व्यक्तिप्रति अझै पनि समाजमा विभेद र नकारात्मक सोच कायम रहेको बताउँदै त्यसको अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो। उहाँले सचेतना अभिवृद्धि र सकारात्मक व्यवहारमार्फत मात्रै एचआईभी संक्रमित व्यक्तिहरूलाई सम्मानपूर्ण वातावरण सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०८०/८१ सम्म एचआईभी संक्रमित भई एआरटी उपचारमा ३ हजार ७ सय २३ जना रहेका छन्। आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा १ लाख ११ हजार १४९ जनामा एचआईभी परीक्षण गर्दा २१४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक गरिएको छ। त्यसैगरी कञ्चनपुर जिल्लामा १९ हजार ९४७ जनामा एचआईभी परीक्षण गर्दा ५२ जनामा पोजिटिभ देखिएको जनाइएको छ। हालसम्म कञ्चनपुर जिल्लामा मात्रै एआरटी सेवामा ४६० जना दर्ता भइसकेका छन्।
कार्यक्रममा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव अन्त्य गर्न समुदायस्तरबाटै सचेतना र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले वडा, पालिका हुँदै जिल्लास्तरसम्म एचआईभी संक्रमण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले समयमै एचआईभी परीक्षण गर्न तथा उपचार सेवामा पहुँच विस्तार गर्नुपर्ने कुरालाई समेत औँल्याउनुभयो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधिहरूले एचआईभी सम्बन्धी सही सूचना समुदायस्तरसम्म पुर्याउने, संक्रमितप्रति सम्मानजनक व्यवहार गर्ने वातावरण निर्माण गर्ने तथा लाञ्छना र भेदभाव अन्त्यका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एचआईभी सम्बन्धी अभिमुखीकरणले संक्रमित व्यक्तिहरूलाई समाजमा समान अवसर र सम्मानपूर्वक बाँच्न सहयोग पुग्नुका साथै संक्रमण नियन्त्रण अभियानलाई समेत प्रभावकारी बनाउने विश्वास गरिएको छ।















